संकटालाई पराजित गर्दै पुलिस फाइनलमा प्रवेश

सफल खबर संवाददाता

विहीबार, ०७ कार्तिक २०७६, १८ : १८
संकटालाई पराजित गर्दै पुलिस फाइनलमा प्रवेश

चितवन । नेपाल पुलिस क्लव नारायणगढको क्याम्पाचौरमा जारी जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमीफाइनल खेलमा संकटा क्लवलाई १–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली उपाधि नजिक पुगेको हो ।

मध्यान्तरअघि गोलरहित बराबरी खेलेको पुलिसका लागि दोस्रो हाफको २७ औं मिनेटमा जर्सी नम्बर १६ का सौजन याक्खाले गोल गरे । सुमन लामाले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रीकिक गोलरक्षकले पञ्च गरेपछि रिबाउण्डमा सौजनले सुन्दर गोल गरे । निर्णायक गोल गरेका सौजन म्यान अफ दी म्याच घोषित भए । 
खेलमा पहिलो हाफ संकटाले सुन्दर मौकाहरु गुमाएको थियो । दोस्रो हाफ भने पुलिसले आफ्नो नियन्त्रणमा लिएको थियो । तैपनि पाएका कयौं मौका पुलिसले पनि गुमायो । 

पुलिसले अब उपाधिका लागि कार्तिक ९ गते शनिबार चितवन–११ को सामना गर्ने छ । चितवन यसअघि नै बुधबार तुलनात्मक बलियो त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगिसकेको छ । 
नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सहआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।
 

प्रतिक्रिया दिनुहोस