शहीदका सपना पूरा गर्नु साझा कर्तव्य: मुख्यमन्त्री गुरुङ

रासस

बुधबार, ०६ कार्तिक २०७६, २१ : ४७
शहीदका सपना पूरा गर्नु साझा कर्तव्य: मुख्यमन्त्री गुरुङ

फाइल फोटो

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीदले देखेका सपना पूरा गर्नु सबैको साझा कर्तव्य भएको बताउनुभएको छ । थमन परियार स्मृति प्रतिष्ठानद्वारा पोखरा २८ माझठानामा आज आयोजित शहीद थमन परियार स्मृति खेल मैदान र वडास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले शहीदको बलिदानीबाट मुलुक वर्तमान अवस्थासम्म आउन सफल भएको बताउनुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको अभियानलाई सफल बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले जनताका आधारभूत आवश्यकता पूरा गर्न सकेमात्र शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने विचार व्यक्त गर्नुभयो । सरकारले अहिले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सडकलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताउँदै मुख्यमन्त्री गुरुङले मुलुकबाट विभिन्न खाले उत्पीडनको अन्त्यका लागि गरीबी निवारणमा जोड दिइनुपर्ने धारणा राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका अध्यक्ष एवं पूर्वमन्त्री हीतराज पाण्डेले मुलुकका तीनै तहका सरकारले शहीद र बेपत्ता परिवारलाई लक्षित गरी आर्थिक उपार्जनका योजना ल्याउनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्यद्वय दीपक कोइराला र गायत्री गुरुङले शहीदहरुको बलिदानीबाट मुलुकमा एकात्मक राज्य व्यवस्था अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गर्नुभयो ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले महानगरले पोखरा १८ को ४५ रोपनी जग्गामा राष्ट्रिय विभूति शहीद स्मृति पार्क निर्माण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले यस क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार विकाससँगै उत्पादनमा जोड दिन स्थानीय बासिन्दालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा शहीद थमन परियारकी धर्मपत्नी विष्णुमाया परियार, कमल परियाका बुबा आइतबहादुर परियार र सन्तोष राईभाटका आमा मिठुलक्ष्मी राईभाटलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।प्रतिष्ठानका अध्यक्ष लालमोहन तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २८ का वडाअध्यक्ष निर्मल दियाली, सचिव बैनबहादुर गुरुङ लगायतले शहीदले देखेका सपना पूरा गर्नु सबैको दायित्व भएको धारणा राख्नुभयो । 

प्रतिक्रिया दिनुहोस