आर्मीलाई हराउँदै चितवन फाइनलमा

सफल खबर संवाददाता

बुधबार, ०६ कार्तिक २०७६, १८ : १८
आर्मीलाई हराउँदै चितवन फाइनलमा

चितवन । उपाधि दाबेदार मानिएको नेपाल आर्मीको त्रिभुवन आर्मी क्लवलाई पारजित गर्दै चितवन–११ नारायणगढको क्याम्पाचौरमा जारी टुवोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

मध्यान्तरअघि गोलरहित बराबरीमा रोकेको आर्मी दोस्रो हाफमा सम्हालिन नसक्दा २–१ को हार व्यहो¥यो । दोस्रो हाफमा चितवनको आक्रामक प्रदर्शनको अगाडि आर्मी फितलो देखियो । 
चितवनका लागि पहिलो गोल दोस्रो हाफको २० औं मिनेटमा जर्सी नम्बर १५ का अनिल रानाले गरे । आर्मीका खेलाडीको ह्याण्डमा चितवनका यदु सिलवालले गरेको प्रहार आर्मीका गोलरक्षक विकेस कुथुले पन्च गरे । त्यसैमा भएको रिबाउण्डमा अनिलले उत्कृष्ट गोल गरे । 
त्यसको ८ मिनेटपछि चितवनका कप्तान जर्सी नम्बर ७ का रुमेस बर्तौलाले गरेको गोलसँगै चितवनले २–० को अग्रता लियो । 
आर्मीका लागि जर्सी नम्बर २९ का विमल पाण्डेले दोस्रो हाफको ३७ औं मिनेटमा गोल गरे । 

उत्कृष्ट प्रदर्शन गरेका चितवनका जर्सी नम्बर २ का जितेश गुरुङ म्यान आफ दी म्याच बने । 

चितवनका प्रशिक्षक विजय घलेले रणनीतिअनुसार सबै खेलाडीले राम्रो प्रदर्शन गरेका कारण जित सम्भव भएको बताए । 
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले चितवनले राम्रो खेलेको कारण जितेको प्रतिक्रिया दिए । आर्मीको मध्यपंक्तिमा तालमेल नमिल्नाले चितवनले उत्कृष्ट गोल गरेको उनले बताए । 

चितवनले अब उपाधिका लागि बिहीबार हुने दोस्रो सेमीफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब र संकटा भिड्ने प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए । 
नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।

प्रतिक्रिया दिनुहोस