जेसीज विकास रनिङ शिल्ड : एपीएफलाई पन्छाउँदै आर्मी सेमीफाइनलमा

सफल खबर संवाददाता

सोमबार, ०४ कार्तिक २०७६, १८ : ५०
जेसीज विकास रनिङ शिल्ड : एपीएफलाई पन्छाउँदै आर्मी सेमीफाइनलमा

चितवन । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब नारायगढको क्याम्पाचौरमा जारी जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । 
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । तर, दोस्रो हाफको दोस्रो मिनेटमै आर्मीका लागि मिडफिल्डर सन्तोष तामाङले फ्रीकिकमार्फत गरेको गोल नै निर्णायक बन्यो । विपक्षी खेलाडीले आर्मीका कप्तान भरत खवासलाई लडाएपछि पाएको फ्रीकिकमा राष्ट्रिय खेलाडी सन्तोषले सुन्दर गोल गरे । 
विकास रनिङ शिल्डको १३ औं संस्करण विजेता एपीएफ हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि उसले झापा–११ लाई सडन डेथमा पराजित गरेको थियो । 

उत्कृष्ट प्रदर्शन गरेका आर्मीका जर्सी नम्बर २९ का विमल पाण्डेले म्यान अफ दी म्याच बन्दै १० हजार पुरस्कार पाए । अब सेमीफाइनलमा आर्मीले घरेलुटोली चितवन–११ को सामना गर्नेछ । प्रतियोगितामा छैटौं दिन मंगलबार जावलाखेल युथ क्बल र संकटा क्बल काठमाडौंले प्रतिस्पर्धा गर्ने प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए । 
नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।
 

प्रतिक्रिया दिनुहोस