विश्वकप छनोट : नेपाल जोर्डनसँग पराजित

बुधबार, २९ असोज २०७६, ११ : ०९
विश्वकप छनोट : नेपाल जोर्डनसँग पराजित

काठमाडौँ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको समूह बी को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

जोर्डनको अम्मान अन्तरराष्ट्रिय रङ्गशालामा गएराति भएको खेलमा जोर्डनसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खायो । जोर्डनको जितमा फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले एक/एक गोल गरे ।

खेलको ५६ औँ मिनेटमा फेरासले पेनाल्टीमार्फत एक गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै फेरासले गोल गरेका थिए ।

यस्तै खेलको ८७ औँ मिनेटमा अहमेदले गोल गर्दै जोर्डनलाई दुई शून्यको अग्रता दिलाए भने खेलको ८८औँ मिनेटमा फैसलले हेड गोल गर्दै जोर्डनलाई ३–० को सहज जित दिलाए ।

समूह बीमा अस्ट्रेलिया नौ अङ्कका साथ शीर्षस्थानमा छ भने सात अङ्क जोडेको जोर्डन दोस्रो स्थानमा छ । चार अङ्क बनाएको कुवेत तेस्रो, तीन अङ्क बटुलेको नेपाल चौथो तथा एक अङ्क पनि बटुल्न नसकेको चाइनिज ताइपेइ अङ्क तालीकाको अन्तिम स्थानमा छ । (रासस)

प्रतिक्रिया दिनुहोस