Safal Khabar - जो गाईभैंसी किन्ने पैसा जुटाउन तीन पटकसम्म पुगे मलेसिया
बुधबार, ०६ कार्तिक २०७६ (Wednesday, 23 October, 2019)
जो गाईभैंसी किन्ने पैसा जुटाउन तीन पटकसम्म पुगे मलेसिया
बिहिबार, २३ असोज २०७६, १२ : ०४
जो गाईभैंसी किन्ने पैसा जुटाउन तीन पटकसम्म पुगे मलेसिया

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । मलेसियामा कमाएको पैसालाई लगानी गरी गैंडाकोटमा पशुपालन गरेर तुलसी कंडेलले उदाहरणीय काम गरेका छन् । गैंडाकोट नगरपालिका– १ मिलनचोक निवासी ३५ वर्षीय कंडेल गैंडाकोटका एक पशुपालक तथा दूध विक्रेता हुन् ।

२०७० सालमा १० वटा गाईभैंसीबाट व्यवसाय सुरु गरेका उनको गोठमा अहिले २५ वटा गाईभैंसी छन् । तुलसी सानो छँदादेखि नै उनका बुबाले गैंडाकोटमै २/४ वटा गाईभैंसी पालेर दूध बेच्दै आइरहेका थिए । तर आफू ठूलो भएपछि तुलसीले बुवालाई हौसला प्रदान गरी पशुपालन व्यवसाय गर्न भने र आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता दिए । त्यसपछि उनले २०७० सालमा आफ्नो नामबाट मौलाकालिका पशुपालन केन्द्रको जन्म गराए । 

सानैदेखि पशुपालन गरेकाले उनको बुवासँग पशुपालन गर्ने राम्रो अनुभव थियो । अनि बुवालाई सहयोग गर्दै हुर्केका तुलसीले पनि पशुपालन के हो ? भनेर राम्रोसँग बुझेका थिए । 

अहिले एकातिर उनको फर्म (गोठ) मा पशुपालन हुने गर्छ भने अर्काेतिर फर्म नजिकै मिलनचोकमा फर्ममा उत्पादित दूध बेच्न एउटा पसल छ । आफ्नो तीन कठ्ठा जग्गामा उनको घर र पशुपालन गर्ने फर्म रहेको उनी बताउँछन् । पसल भने उनले भाडामा लिएर सञ्चालन गरिरहेका छन् ।

पशुका लागि चाहिने दाना, चोक्कर र पराल बाहिरबाट किनेर ल्याउने गरेको उनले बताए । घाँसको लागि भने उनले फर्म नजिकै जग्गा भाडामा लिएर घाँस खेती गरेका छन् । तुलसीकी श्रीमती, बुवा अनि उनी आफैं र थप तीन जना बाहिरी मान्छे राखेर ६ जनाले उक्त व्यवसायमा काम गरिरहेका छन् । उनको पशुपालन फर्मबाट सिजनअनुसार दैनिक १०० देखि १५० लिटरसम्म दूध उत्पादन हुने उनी बताउँछन् । 

उनले आफ्नो फर्मबाट उत्पादित दूधलाई मात्र छानेर पसलबाट गैंडाकोटवासीलाई बिक्री गरिरहेका छन् । जसका कारण बजार क्षेत्र भएर पनि गैंडाकोटका त्यस क्षेत्रका वासीन्दाले फ्याट तथा क्रिम नकाटिएको दूध उपभोग गर्न पाएका छन् । ‘पूर्ण फ्याट भएको दूध बेच्ने गरे पनि मैले दुग्ध विकास संस्थानले तोकेको दररेट (बजार भाउ) मा नै खुद्रा रुपमा स्थानीयलाई बेच्ने गर्दछु ।’ तुलसीले भने । 

म उनको पसलमा पुगेर तुलसीसँग कुरा गरिरहँदा दूध किन्न आउने एक ग्राहकले भने ‘यहाँको दूध एक पटक खानुस्, तपार्इं नारायणगढबाट पनि यहाँसम्म दूध लिन आउनुहुनेछ ।’ बजारमा पाइने प्याकेजिङ्ग दूधको तुलनमा तुलसी कहाँ पाइने दूध बाक्लो र मिठो हुने गरेको ती ग्राहकको भनाइ थियो । ‘हामीले त यहाँबाट दूध किनेर घिउ निकाल्छौं, उहाँको पसल खोल्नुभन्दा पहिला खाने गरेको प्याकेजिङ्ग दूधबाट घिउ निकाल्न सकिन्थेन्,’ अर्का ग्राहकले भने । शहरी क्षेत्रमा पशुपालन गरेर पनि तुलसीले स्थानीयहरुको स्यावासी पाइरहेका छन् । 

तुलसीले समग्र गैंडाकोटवासीलाई नै पुग्ने गरी दूध उत्पादन गर्ने लक्ष्य राखेका छन् । कुनै भवितव्य नआएको खण्डमा उक्त लक्ष्य हासिल गर्न उनले जीवनभर लागि पर्ने अठोट लिएका छन् । 

उनले आफ्नो व्यवसायबाट राम्रै कमाइ भइरहेको बताए । ‘विदेशमा गर्ने दुःख स्वदेशमा गर्दा त्यहाँभन्दा यहाँ धेरै कमाइ गर्न सकिँदो रहेछ, उनी आफ्नो अनुभव सुनाउँछन् ।’ स्वदशमै घरपरिवार र समाजसँगै घुलमिल हुँदै पशुपालन गर्दा निकै आनन्द महशुस हुने उनी बताउँछन् । 

तर उनी यहाँसम्म भने त्यसै सोचेकै भरमा आएका होइनन् । आफ्नो निरन्तर मिहिनेतका कारण आफू यहाँसम्म आइपुगेको उनी स्वयम बताउँछन् ।

मलेसियाको यात्रा
१२ कक्षा पढ्दा पढ्दै आफ्नो आर्थिक अवस्था कमजोर भएकै कारण पढाइलाई बिट मार्न बाध्य भएको उनी दुखेसो पोख्छन् । उमेर बढेसँगै काम गर्नुपर्ने जिम्मेवारी उनीमा थपियो । तीन दाजुभाईमध्येका कान्छा छोरा तुलसीका दुई दाईहरुले आ–आफ्नो व्यवसाय गरेका थिए । अहिले एउटा दाईले कन्सल्टेल्सी चलाई रहेको र अर्को दाईले पोल्ट्री व्यवसाय गरिरहेको तुलसीले जानकारी दिए ।

त्यति बेला स्वदेशमा केही गरौं भने उनीसँग लगानी गर्ने पुँजी थिएन । त्यही ताका उनले एउटा सोच बनाए । उनको सोच थियो मलेसिया गएर केही पैसा कमाएर ल्याउने अनि बुवाले पाल्ने गरेको २/४ वटा गाईभैंसीको संख्यामा वृद्धि गरी एक पशुपालक एवं दूध विक्रेता बन्ने । त्यही लक्ष्य बोकेर उनी मलेसिया तिर हानिए । केही वर्ष बस्ने फेरि घर फर्कने गर्दै उनी सात वर्षमा तीन पटक मेलेसिया आउजाउ गरे । त्यहाँको दुःख खेप्न नसकेर र घरपरिवारको सम्झनाले आफू पटकपटक घर फर्कने गरेको उनी विगत सम्झन्छन् । घर आएपछि घरको आर्थिक अवस्थाले उनलाई विदेश तिर नै जान बाध्य पार्ने गरेको उनी सुनाउँछन् । 

तेस्रो पटक मलेसिया पुगेर फर्केपछि उनले पशुपालन सुरु गरे । पशुपालनमा लागेपछि उनी वैवाहिक सम्बन्धमा बाँधिए । विवाह गरी छोरा जन्माएपछि आफूमाथि थप जिम्मेवारी महसुस भएको उनी बताउँछन् । 
अहिले उनी बुवालाई साथमा लिएर सम्पूर्ण गैंडाकोटवासीलाई पूर्ण (फ्याट ननिकालिएको) दूध खुवाउने लक्ष्यका साथ संघर्ष गरिरहेका छन् ।

तुलसीको नजरमा नेपालमा पशुपालन
पशुपालन व्यवसायलाई आधुनिकिकरण गर्न किसान इच्छुक भएपनि लगानी गर्ने पुँजी नहुँदा पशुपालन व्यवसाय सोचे जस्तो विस्तार हुन नसकेको उनको बुझाइ छ । ‘पशुपालनतिर लाग्ने भनेको गरिब किनसानहरु नै हुन्, उनीहरुसँग जाँगर त हुन्छ तर लगानी गर्ने पैसा हुँदैन्, उनी भन्छन् ‘सरकारले अनुदान दिने भनेको छ तर राजनीतिक पहुँच नभएका सोझा जनतासामु अनुदानको सूचना पनि पुग्दैन ।’ जे कुरामा पनि राजनीति हुने यो देशमा किसानको अनुदानमा पनि राजनीति हुने गरेको उनी बताउँछन् । 


बैंकहरुले सहुलियतमा ऋण दिने भनेका छन् तर चाहिए जति रकम नदिने गरेको उनी गुनासो गर्छन् । ऋण लिन पनि निकै झन्झटिलो प्रक्रिया पार गर्नुपर्ने अनि व्यवसायलाई चाहिने जति ऋण पनि नपाइने हुँदा गरिब किसानहरुलाई अहिले भनिएको सहुलियत ऋणको कुनै अर्थ नभएको उनको दावी छ । 

काम गर्ने जाँगर भएका तर पुँजीको अभावमा तड्पि रहेका वास्तविक गरिब किसानहरुको पहिचान गरी उनीहरुलाई चाहिने जति रकम थोरै व्याजदरमा उपलब्ध गराउन सके देश पशुपालन व्यवसायमै आत्मनिर्भर बन्ने संभावना उनी देख्छन् । सरकारले यसरी काम नगर्ने हो देशमै केही गर्न चाहने युवा पुँजीको अभावमा विदेशिन बाध्य हुने उनको ठम्याइ छ । ‘तर सरकारले केही गरेन, स्वदेशमा केही छैन् भनेर स्वदेशमा केही गर्न नचाहनुभन्दा मैले जसरी विदेश त जाने तर त्यहाँबाट ल्याएको पुँजीलाई व्यवसायमा लगानी गर्ने हो भने जनस्तरबाट नै देशको विकास गर्न सकिन्छ । उनी भन्छन् ।’
पशुलाई खुवाइने दाना, चोक्करमा पनि सहुलियत हुनुपर्ने उनी बताउँछन् । यसो हुन सकेमा आफूले पनि व्यवसायलाई छिटो विस्तार गरी समग्र गैंडाकोटवासीलाई दूधमा आत्मनिर्भर बनाउन सक्ने उनी दावी गर्छन् ।
तर सरकाले केही नगरेपनि आफूले लगानी गर्ने अरु साथीहरु खोजी व्यवसालाई थप विस्तार गर्ने योजना बनाएको उनी सुनाउँछन् ।

प्रतिक्रिया दिनुहोस