नेपालले पायो १ सय ४६ रनको लक्ष्य

एजेन्सी

बुधबार, २२ असोज २०७६, १३ : २३
नेपालले पायो १ सय ४६ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्डविरुद्धको खेलमा नेपालले १ सय ४६ रनको लक्ष्य पाएको छ । ओमानमा जारी पाँच देश सम्मिलित टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आयरल्यान्डले  नेपाललाई  १ सय ४६ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन जोड्यो। ९५ रनमा केवल एक विकेट गुमाएको आयरल्यान्ड त्यसपछि लगातार धरासायी बनेको थियो । दोस्रो ओभरमा सन्दिप लामिछानेले विष्फोटक ब्याट्सम्यान केभिन ओब्रायनलाई पेभिलियनको बाटो देखाए ।

७ रनमै विकेट गुमाएर झट्का खाएको आयरल्यान्डलाई त्यसपछि भने बलरले दवावमा राख्न सकेनन् । पहिलो ओभर फ्याक्दा दुई रन मात्र खर्चेका स्पिनर ललित राजवंशीले तेस्रो ओभरमा दुई छक्कासहित १६ रन खाए ।

आयरल्यान्डका ओपनर पाउल स्टर्लिङले एन्डी बलबिर्नीसँग निकै महत्वपूर्ण साझेदारी गरे । फलस्वरुप ११ ओभरमा आयरल्यान्डले एक विकेट मात्र गुमाएर ९४ रन बनाइसकेको थियो । २ सय रनको नजिक पुग्नसक्ने सम्भावना देखिएको अवस्थामा १२ ओभरले खेलको दिशा बदल्यो ।

राजवंशीले फ्याकेको १२ औं ओभरमा आयरल्यान्डले लगातार बलमा दुई विकेट गुमायो । तेस्रो बलमा राजवंशीले बलबिर्नीलाई विनोद भण्डारीको हातबाट स्टम्पिङ गराए । त्यसपछि चौंथो बलमा आयरल्यान्डका टेक्टर रनआउट भए ।

त्यसपछिका ओभरहरुमा नेपाली बलरले निकै कसिलो बलिङ गरे । १४।५ ओभरमा अविनाश बोहराले गेरी विल्सनको विकेट लिए । १५ औं ओभरमा पनि आयरल्यान्डले दुई विकेट गुमायो । ओभरको दोस्रो बलमा मार्क अडायर रन आउट भए भने लगत्तको बलमा करण केसीले पाउल स्टर्लिङको निर्णायक विकेट लिए । त्यतिबेलासम्म स्टर्लिङले ४७ बलमा ५९ रनको महत्वपूर्ण इनिङ खेलिसकेका थिए । उनको इनिङमा २ छक्का र छ चौका सामेल छन् ।

सन्दिपले आफ्नो अन्तिम ओभरमा गारेथ डेलानीको विकेट लिँदै आफ्नो विकेट संख्या बढाए । १८ औंभरमा फेरि अविनाशले पनि आफ्नो व्यक्तिगत दोस्रो विकेट लिए ।

अघिल्ला दुवै खेलमा जित हात पारेको नेपाल उच्च मनोबलमा छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । 

पहिलो खेलमा हङकङलाई हराएको आयरल्यान्ड दोस्रो खेलमा घरेलु टोली ओमानसँग स्तब्ध भएको थियो । तेस्रो खेलमा पनि नेदरल्यान्ड्सलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस