मध्य रातमा राजमार्गका होटलको अनुगमन गर्दै भरतपुर महानगर

जुगेडी क्षेत्रका होटलले खाद्य सुरक्षामा चरम लापरवाही गरेको भेटियो

प्रकाश सिग्देल

विहीबार, १६ असोज २०७६, १८ : ५१
मध्य रातमा राजमार्गका होटलको अनुगमन गर्दै भरतपुर महानगर

– प्रकाश सिग्देल
चितवन । भरतपुर महानगरले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगरका अधिकृत अनुज घिमिरेको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले रामनगरदेखि जुगेडीसम्मका १ दर्जन बढी होटलहरुको अनुगमन गरेको हो । दशंैको बेला सवारी साधनमा घर फर्कने यात्रुहरुको अत्याधिक चाप हुने र ती यात्रुहरुले खाना खाने ठाउँ रामनगर र जुगेडीका होटलमा भएकाले ती होटलको खाद्य सुरक्षालाई ध्यानमा राखी अनुगमन तीव्र पारिएको महानगरका अधिकृत तथा संयुत्त बजार अनुगमन समितीका संयोजक अनुज घिमिरेले बताउनुभयो ।

महानगरले १३ गतेदेखि निरन्तर बजार अनुगमनका कामलाई तीव्रता दिएको छ । स्वच्छ खद्यान्न खान पाउने उपभोक्ताको अधिकार भएकाले उपभोक्ताको अधिकार कुनै पनि वाहानामा कुण्ठित हुन नदिने गरी महानगर खाद्य स्वच्छताका लागि सक्रीय भएको उहाँको भनाइ छ । महानगरले दैनिक अनुगमन फारम तयार पारि १७ वटा सुचकहरु समावेश गरेको छ । ती सुचकहरुलाई आधार मानेर अनुगमन गर्ने र सुचकहरु पुरा नगरेको देखिएमा तत्कालका लागि ५ हजारसम्म जरिवना गरिएको छ । एक पटक जरिवना गरिसकेपछि पनि सुधार नभए जरिवनाको दर डबल हुदै जाने उहाँले बताउनुभयो ।

महानगरले विशेष गरी सरसफाई, खाद्य सुरक्षा र खाद्य बस्तुको गुणस्तरलाई ध्यान दिएको छ । साथै मुल्य सुचि, उपभोग्य मिती, नापतौल, विक्री र खरिद विल, व्यवसाय दर्ता भए नभएको, खाद्य  अनुज्ञा लिए नलिएको, विगतको अनुगमनमा दिईएको निर्देशन पालना भए नभएको सबै कुरामा ध्यान दिएको उहाँ बताउनु हुन्छ । होटलमा भान्सा, भाडा माझने ठाउँ र सौचालय बीचको दुरी र त्यसको फोहोर व्यवस्थापन लगायतका विषयमा विशेष ध्यान दिएको उहाँ बताउनु हुन्छ । त्यस्तै अनुगमनका क्रममा होटलले खरिद गरेर ल्याएको तरकारी दूध, दही, घिउ , तेल, माछा, मासु, चाउमिन, लगायतको खाद्य स्वच्छतामा विशेष ख्याल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्कि राउतले बताउनुभयो । त्यस्तै होटलले विक्री गर्ने पेय पदार्थको उपभोग्य मिती भए नभएको पनि आफूहरुले विशेष ध्यान दिएको राउत बताउनु हुन्छ । उपभोग्य मिती कटेको खाद्य वस्तु विक्री गर्ने व्यवसायीलाई मुद्धा चलाएर कारवाही हुने उहाँको भनाइ छ ।

कुन होटल कस्तो ?
अनुगमनका क्रममा जुगेडीमा रहेको सबै जसो होटलले खाद्य सुरक्षामा चरम लापरवाही गरेको  पाइएको छ । डब्लु रेन्ज रेस्टुरेन्ट विना दर्ता सञ्चालनमा रहेको र खाद्य सुरक्षामा चरम लापरवाही गरेको भेटिएको अनुगमन समितीका संयोजक अनुज घिमिरे बताउनु हुन्छ । होटलले पकाउनका लागि राखेको तरकारी कुहेको भेटिएको थियो भने होटलले बिहान पकाएर राखेको खाना तथा तरकारी र मासु नष्ट गरिएको थियो ।

त्यस्तै होटलले विक्रीका लागि राखेको पेप्सि कम्पनिको पेय पदार्थ म्याद गुज्रेको भेटिएको उहाँ बताउनु हुन्छ । हाृेटल बाट ठुलो मात्रामा पेय पदार्थ, तथा पकाएको र पकाउनका लागि राखेको खाद्य बस्तु नष्ठ गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्कि राउतले बताउनु भयो । त्यस्तै किचन समेत अत्याधिक फोहोर भेटिएको उहाँ बताउनु हुन्छ । होटल सञ्चालकलाई ३ दिनभित्र पूर्ण रुपमा सुधार गरी कार्यालयमा सम्पर्क गर्न भनेको राउतले बताउनुभयो । यो बीचमा पनि नसुधारे कडाभन्दा कडा कारवाही हुने उहाँ बताउनु हुन्छ । त्यस्तै जुगेडीको एलिना, बुटवल होटल, सागर होटल, नमस्ते नेपाल, खोटाङ्ग एण्ड सगरमाथा र अन्य होटलहरुले फोहोर व्यवस्थापन र खाद्य स्वाच्छतामा खेलवाड गरेको पाइएको हो । अनुगमन गरिएका सबै होटलहरुमा खाद्य स्वच्छतामा चरम लापरवाही भएको भेटिएकाले सबैलाई कार्यालयमा हाजिर हुन निर्देशन गरेको घिमिरे बताउनु हुन्छ ।

त्यस्तै ती होटलहरु घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नभएको पाइएको घरेलु तथा साना उद्योग कार्यालय भरतपुरमा अधिकृत सुर्दशन शर्मा बताउनु हुन्छ । त्यस्तै जुगेडीका होटलहरुले विना दर्ता मदिराको कारोवार गरेको भेटिएको उहाँको भनाइ छ ।

अनुगमनका क्रममा रामनगर क्षेत्रका होटलहरुमा भने समस्या नदेखिएको अनगुमन समितिका संयोजक घिमिरेले बताउनुभयो । रामनगरमा अत्याधिक चल्ने होटल न्यु शिव शक्ति होटलकोे पनि टोलीले अनुगमन गरेको थियो त्यसको अनुगमनका क्रममा होटलको गुणस्तर राम्रो भेटिएको  होटलले खाद्य सुरक्षामा विशेष ख्याल गरेको मुल्य सुचि देखि अन्य सबै कुरामा विशेष ध्यान दिएको भेटिएको उहाँको भनाइ छ । त्यस्तै सुष्मा होटलको पनि राम्रो भेटिएको उहाँ बताउनु हुन्छ ।

त्यस्तै टोलिले, लुम्विनि होटल, मनकामना होटल पनि अनुगमन गरेको थियो । उनीहरुको पनि सन्तोष जनक भेटिएको उहाँको भनाइ छ । उपभोक्ता स्वास्थ्यमा खेलवाड गर्नेहरुलाई हदैसम्मको कारवाही हुनुपर्ने उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुषालले बताउनुभयो । चाड पर्वको बेलामा बजारमा व्यवसायीहरुले कृत्रिम अभाव सृजना गर्ने अखाद्य वस्तु विक्री गर्ने लगायतका धेरै कमि कमजोरी हुने भएकाले बजार अनुगमनलाई कडा रुपमा अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुुगमन अधिकारी उमेश चन्द्र पन्थीले बताउनुभयो ।

नारायणगढका ४ मासु पसललाई जरीवना
अनुगमन टोलीले नारायणगढका ४ मासु पसललाई कारवाही गरेको छ । मासु बध स्थल, विक्रीकक्ष र पसल अगाडिको क्षेत्रमा फोहोर गर्ने मासु पसलेलाई पहिलो चरणमा ५ हजार जरिवना गरिएको हो । मंगलबार गरिएको मासु अनुगमनमा नारायणगढ लायन्सचोकको मिलिजुली बंगुर मासु पसल, आरके बंगुर मासु पसल, न्यु ईन्द्रणी मासु पसल र लक्ष्मी मिट हाउसलाई कारवाही गरेको हो । उनीहरुको पसलमा फोहोर व्यवस्थापनमा ध्यान नदिएको मासु खुल्ला रुपमै विक्री गरेको लगायतका विभिन्न कमिकमजोरी देखिएपछि कारवाही गरिएको हो । 
 

प्रतिक्रिया दिनुहोस