विद्यालय निर्माणका लागि रु चौबिस लाख सहयोग

शनिबार, २० माघ २०७४, १५ : १२
विद्यालय निर्माणका लागि रु चौबिस लाख सहयोग

रामपुर पाल्पा । कालिका आधारभूत माध्यमिक विद्यालय रामपुर नगरपालिका– ४ देविस्थान पाल्पाको नयाँ भवन निर्माणका लागि सहयोग रकम प्राप्त भएको छ ।

नेपालका लागि कर्मथलो बनाएका जापानिज नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले विद्यालयको नयाँ भवन निर्माण गर्न रु २४ लाख आर्थिक रकम सहयोग गर्नुभएको हो । ओकेबाजेले उपलब्ध गराएको रकमबाट दुई तले चार कोठे पक्की भवन निर्माण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडाले बताउनुभयो ।

जीर्ण भवनलाई २०७२ को विनाशकारी भूकम्पले असर पु¥याएपछि पठनपाठनमा निकै समस्या विद्यालयले भोग्दै आइरहेको छ । विद्यालयको नयाँ भवन निर्माण हुन थालेपछि कक्षा ८ की उषा रानाले सजिलोसँग कक्षा कोठामा बसेर पढ्न पाइने विश्वास व्यक्त गर्नुभयो ।
कक्षा नर्सरीदेखि कक्षा ८ सम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा हाल एक सय ५० जना विद्यार्थी रहेका छन् । १७ वटा कक्षा कोठा रहेको विद्यालयमा हाल आठवटा कक्षा कोठा जीर्ण अवस्थामा छन् । यहाँ नयाँ भवन निर्माण सम्पन्न भएपछि अंग्रेजी माध्यममा पठनपाठनलाई प्राथमिकता दिने विद्यालयले जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस