औलो प्रभावित क्षेत्रमा २० हजार थान झुल वितरण

शनिबार, २० माघ २०७४, १४ : ५९
औलो प्रभावित क्षेत्रमा २० हजार थान झुल वितरण

बनियानी, झापा । लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोग नियन्त्रणका लागि झापाका अतिप्रभावित क्षेत्रमा २० हजार थानभन्दा बढी झुल (सुपानेट) वितरण गरिएको छ ।
जिल्लाका अतिप्रभावित काँकडभिट्टा, बाहुनडाँगी र पृथ्वीनगरका स्थानीयवासीलाई झुल वितरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत मधुसुधन कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेचीगनर–१० स्थित काँकरभिट्टामा ११ हजार थान, बाहुनडाँगी सात हजार २०० र भद्रपुर–२ स्थित पृथ्वीनगरमा ९२० थान झुल वितरण गरिएको छ । “स्वास्थ्य मन्त्रालयको सहयोगमा उपलब्ध झुल वितरण गरेका हौँ” उहाँले भन्नुभयो, “पछिल्लो समययता यी तीन स्थानमा औलोको जोखिम बढी देखिएको छ ।”

यता, जिल्लामा सन् २०१२ देखि औलो रोग क्रमशः घट्दै गएको कार्यालयको तथ्यांकले देखाउँछ । पछिल्लो चार वर्षको तथ्यांक हेर्ने हो भने झापामा क्रमशः औलो रोग नियन्त्रण हुँदै गएको छ । आव २०७०÷७१ मा ८९ जना, ०७१÷७२ मा ५८ जना, ०७२÷७३ मा ४२ जना र आव ०७३÷०७४ मा ८ जनामा मात्र औलो रोगी फेला परेको कार्यालयका भेक्टरकन्ट्रोल अधिकृत बेदप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

औलो नियन्त्रणका लागि सन् २००८ देखि सन् २०१५ सम्ममा झापामा करिब दुई लाख थान सुपानेट (झुल) वितरण गरिएको थियो । गाउँ तथा शहरी गरी ६६ वटा स्वास्थ्य संस्थाबाट द्रुत निदान विधिबाट औलोको निःशुल्क परीक्षण तथा औषधि वितरण हुँदै आएको घिमिरेले बताउनुभयो ।

औलो लामखुट्टेको माध्यमबाट सर्ने एक सरुवा रोग हो । प्लाज्मोडियम भन्ने परजीवीका विभिन्न जातका कारण यो रोग लाग्ने गर्दछ । पोथी एनोफिलिस जातको लामखुट्टेले मानिसलाई टोकेमा औलोको संक्रमण हुन सक्छ ।

सन् २०२६ सम्ममा नेपाललाई औलो मुक्त बनाउने सरकारी लक्ष्य रहेको छ । सरकारले मुलुकका ६५ जिल्लालाई औलो जोखिमयुक्त जिल्लाको रुपमा लिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस