भरतपुर अस्पतालमा कर्मचारी आन्दोलन : तलब नपाउँदा घर खर्च चलाउनै समस्या

उर्गेन तामाङ

आइतबार, १२ असोज २०७६, १४ : २८
भरतपुर अस्पतालमा कर्मचारी आन्दोलन : तलब नपाउँदा घर खर्च चलाउनै समस्या

चितवन । भरतपुर केन्द्रीय अस्पतालका कर्मचारी दुई महिनादेखि तलब, भत्ता नपाएको भन्दै पुनः आन्दोलित बनेका छन् । तलब, भत्ता पाउनु पर्ने लगायतका ११ बँुदे माग राख्दै कर्मचारीहरुले आजदेखि पुनः अस्पताल प्रशासनमा धर्ना सुरु गरेका हुन् । 
यसअघि अस्पताल प्रशासनसँग भएको सहमति कार्यान्वयनका लागि ८ दिनको समय उपलव्ध गराएपनि माग पूरा नभएपछि पुनः आन्दोलित हुनु परेको अस्पताल विकास समिति कर्मचारी यूनियन भरतपुर अस्पताल इकाइ समितिका अध्यक्ष चन्द्रमणी बस्यालले बताए । आन्दोलनपछि नेपाल सरकारको प्रचलित तलब स्केल र चाडपर्व भत्ता उपलव्ध गराउने लिखित सहमति भएपछि यसअघिको आन्दोलन स्थगित गरी कर्मचारी काममा फर्किएका थिए । 
कर्मचारीहरुले कार्य क्षेत्रबाट बाहिर निस्किएर अस्पताल परिसरमा धर्ना दिइरहेका छन् । उनीहरुले साउनदेखि करार नवीकरण नभएको र तलब नपाउँदा समस्या परेको गुनासो गरेका छन् । अस्पतालमा सरसफाईको क्षेत्रमा काम गर्दै आएकी मीना थापाले दुई महिनादेखि तलब नपाउँदा घर खर्च चलाउनै समस्या परेको बताइन् । उनले भनिन्, ‘मैले जागीर खाएको ३८ वर्ष भईसक्यो । अहिलेको जस्तो अवस्था कहिल्यै आएको थिएन ।’ 
अस्पतालकी करार कर्मचारी विष्णु कालाखेतीले बालबच्चा पढाउन, चाडपर्व मनाउन, कोठा भाडा तिर्नै समस्या परीरहेको गुनासो गरेकी छिन् । उनले आफूहरुलाई अस्पताल प्रशासनले अत्याचार गरेको बताइन् । कार्यालय सहयोगी दिपक चौलागाईले तलब रोकिँदा दैनिकी चलाउनै अप्mठ्यारो परेको बताए । कर्मचारी विमला चौलागाईले दुई महिनादेखि तलब रोकिँदा हातमुख जोड्नै धौधौ परेको दुःखेसो पोखिन् । उनले भनिन्, ‘२४ वर्षदेखि काम गर्दै आएको हुँ । अहिलेसम्म तलब रोकिएको थाहा थिएन, हालत खराब भईसक्यो, हामीले अब के खाएर काम गर्नु पर्ने हो ? हाकिमले भनिदिनु पर्यो नत्र तलब चाँडो दिनुपर्यो, चाडपर्व मनाउनै समस्या परेको छ ।’
अस्पताल विकास समिति कर्मचारी यूनियनका केन्द्रीय अध्यक्ष संजय बरालले देशभरका अन्य अस्पतालका कर्मचारीले तलब, भत्ता पाइसकेको अवस्थामा भरतपुर अस्पताल प्रशासनले आफूहरुलाई अन्याय गरेको बताए । हिजो खाइरहेको तलब भत्ता नदिएर प्रशासनले दादागिरी देखाएको उनले बताए । देशभर २ हजार ५ सयदेखि ३ हजार विकास समिति अन्तर्गतका कर्मचारी रहेको र भरतपुर अस्पतालमा ५ सय ७५ जना कर्मचारीले तलब नपाएको उनको भनाई छ । 

चाँडै समस्या समधान गर्छौं : मेसु तिवारी
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले आफू कर्मचारीहरुको मागबारे गम्भीर रहेको बताए । उनले भने, ‘अस्पताल विकास समिति गठन नहुँदा समस्या परेको हो, विकास समिति अन्तर्गतका ४ सय ८ जना कर्मचारीमध्ये २ सय ६ जनाको तलब तत्कालै दिने निर्णय गरिसकेको छ ।’ छलफल भइरहेकाले चाँडै नै समस्या समाधान हुने मेसु तिवारीले विश्वास व्यक्त गरे । 
कर्मचारी आन्दोलित हुँदा सेवाग्राही प्रभावित भएका छन् । अस्पतालका सबै वार्ड सञ्चालन भए पनि कर्मचारी आन्दोलित हुँदा सेवा प्रवाह ढिलो हुने, सानो कामका लागि घण्टौँसम्म कुर्नु पर्ने समस्याले बिरामी प्रभावित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस