हुण्डीको कारोबारमा संलग्न एजुकेशन कन्सल्टेन्सीलाई कारबाहीको तयारी

कन्सल्टेन्सीले कम कमाएको भन्दै कर थोरै तिर्ने सञ्चालकहरु चढ्छन् महँगा गाडी

सफल खबर संवाददाता

आइतबार, १२ असोज २०७६, १३ : १९
हुण्डीको कारोबारमा संलग्न एजुकेशन कन्सल्टेन्सीलाई कारबाहीको तयारी

काठमाडौं । केही शैक्षिक परामर्श संस्थाका सञ्चालकहरुले गैरकानूनी तवरले पैसा कमाएको पाइएपछि सम्पत्ति शुद्धिकरण विभागले ती संस्थाका सञ्चालकहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ । 
विभागका अनुसार पछिल्लो समयमा धेरै कारोबार हुने क्षेत्रमा एजुकेशन कन्सल्टेन्सीहरु पनि देखिएको र कन्सल्टेन्सी सञ्चालकहरु हुण्डीको कारोबारमा संलग्न भएकाले उनीहरुमाथि छानबिन थालिएको जनाएको छ । 
हुण्डी तथा अनधिकृत रुपमा कारोबार गर्नेमा एजुकेशन कन्सल्टेन्सीका सञ्चालकहरु पनि देखिएको विभागले जनाएको छ । ‘एजुकेशन कन्सल्टेन्सीका नाममा अनाधिकृत धन्दा चलाएको पाइएपछि उनीहरुलाई कानूनी दायरामा ल्याउन छानबिनको प्रक्रिया सुरु गरिएको हो’ विभागका एक उच्च अधिकारीले भने । ती अधिकारीका अनुसार, धेरै उजुरी परेपछि उनीहरुमाथि छानबिन शुरु गरिएको हो । 
अनाधिकृत रुपमा पैसा कमाउनेका नेकपाका नेता राजेन्द्र पाण्डेका छोरा प्रकाश पाण्डे समेत रहेको स्रोतको दाबी छ । कन्सल्टेन्सीले कम कमाएको भन्दै कर थोरै तिर्ने तर सञ्चालकहरु महंगा गाडी चढेर हिँड्ने अस्वाभाविक गतिविधि देखिएको पाइएको छ । कन्सल्टेन्सीहरुले कर छलेर ठूलो मात्रामा रकम विदेश पठाएको भन्दै सयौं उजुरी परेको विभागले जनाएको छ । 
विद्यार्थीहरुसँग सेवा शुल्कका नाममा चर्को शुल्क लिने, विदेशबाट आएको कमिसनको कर भने नतिरेको पाइएको छ । छोटो समयमा अकूत सम्पत्ति कमाएको देखिएकाले त्यसबारेमा विभागले अनुसन्धान अगाडि बढाएको ती अधिकारीको भनाइ छ । कन्सल्टेन्सीले वार्षिक रु ४० अर्ब रुपैयाँ विदेश पठाइरहेको छ । 
अनुसन्धानमा उपत्यकामा सञ्चालनमा रहेका अधिकांश र बाहिरका केही कन्सल्टेन्सीहरु छन, त्यसमध्ये पनि बढी सम्पत्ति कमाएका एक दर्जन कन्सल्टेन्सी विशेष अनुसन्धानमा परेको स्रोतको दाबी छ । यस्ता कन्सल्टेन्सीहरुले कारोबार स्वदेश र विदेशमा गर्नुपर्ने भएकाले पैसा ल्याउने र लैजाने प्रक्रिया र विद्यार्थीसँग लिने शुल्कमा पारदर्शिता समेत नदेखिएको विभागको भनाइ छ । 
पछिल्ला दिनमा अष्ट्रेलियास्थित एआईबीटी कलेजमा अध्ययन गर्न जाने नेपाली विद्यार्थी बिचल्लीमा परेपछि कन्सल्टेन्सी क्षेत्रका अधिकांश कन्सल्टेन्सीहरुको सम्पूर्ण विवरण शिक्षा मन्त्रालयले माग गरेको थियो । त्यसपछि कर कार्यालयले समेत उनीहरुको सम्पूर्ण कागजपत्र लगेर अनुसन्धान गरेको थियो । तर उनीहरुलाई कमजोर प्रमाण पेश गरेर छुट दिइएको थियो । अब भने विभागले उनीहरुलाई तह लगाएरै छाड्ने तयारीमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस