सबैले स्वदेशमै उपचार गरौँ : उपराष्ट्रपति पुन

उर्गेन तामाङ

शुक्रबार, १० असोज २०७६, १६ : ४५
सबैले स्वदेशमै उपचार गरौँ : उपराष्ट्रपति पुन

चितवन । उपराष्ट्रपति नन्द बहादुर पुनले सबैले नेपालमै उपचार गराउनु पर्ने बताएका छन् । 
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २० औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सबै नागरिकले विशेष परिस्थितिबाहेक स्वदेशमै उपचार गर्नु पर्नेमा जोड दिएका हुन् । 
आफूलाई उपचारका लागि विदेशमा लैजाने तयारी भइरहेको अवस्थामा आफूले नेपालमै उपचार गराएको भन्दै उनले सबै नागरिकले स्वदेशमै उपचार गराउनु पर्ने बताए । उनले भने, ‘सबै उपचार सेवा नेपालमै उपलव्ध छ । विशेष परिस्थितिबाहेक सबैले स्वदेशमै उपचार गराउनु पर्छ, रोग पूर्ण ठीक हुनुमा चिकित्सक र स्वयम् बिरामीमा आत्मविश्वास हुनु पर्छ ।’ 
क्यान्सरको उपचार स्वदेशमै सम्भव रहेकाले यसलाई थप प्रभावकारी बनाउँदै जानु पर्नेमा उपराष्ट्रपति पुनले जोड दिए । उनले अन्य देशबाट क्यान्सर उपचारका लागि नेपाल आउने वातावरण बनाउन केही सुधार आवश्यक रहेको उल्लेख गरे । अझै पनि क्यान्सर उपचारका लागि विदेशमा जाने प्रचलन नरोकिँदा अर्बौं रुपैयाँ विदेश गइरहेको भन्दै उपराष्ट्रपति पुनले यसलाई रोक्नु पर्नेमा जोड दिए । 


उनले थप सेवा बिस्तार गर्दै क्यान्सर अस्पताललाई क्यान्सर इन्ष्टिच्युट बनाउनु पर्नेमा जोड दिएका छन् । क्यान्सर इन्ष्टिच्युट बनाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् । नेपालको गर्व गर्नलायक अस्पतालको रुपमा विकास गर्न र सेवासुविधा बिस्तारका लागि आफूले सक्दो सहयोग गर्ने पुनले बताए । अस्पतालले तयार पारेको गुरुयोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेतर्फ सबैले जोड दिनु पर्ने उपराष्ट्रपति पुनको भनाइ छ । 
उपराष्ट्रपति पुनले संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क दिने व्यवस्था गरे पनि धेरै नागरिक औषधि उपचार नपाएर मृत्यु हुनु दुःखद भएको उल्लेख गरे । निजी अस्पताल महंगो हुँदा सामान्य नागरिकले उपचार गर्न नसकिरहेको अवस्थामा राज्यले यसतर्फ विशेष ध्यान दिनुपर्ने र गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउन सरकारले विशेष कदम चाल्नुपर्ने उनको भनाइ छ ।
सुर्तीजन्य पदार्थ सेवन, जीवनशैली, खानपान लगायतका विभिन्न कारण लाग्ने क्यान्सरबारे धेरै नागरिक जानकार नहुँदा अन्जानमै पीडित हुने गरेकाले जनचेतनामुलक कार्यक्रम गर्न सम्बन्धित सबै निकायलाई उनले आग्रह गरे । 

सरकारी अस्पतालको सेवा बिस्तार गरिने
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादवले सरकारी अस्पतालको सेवा विस्तार गर्ने योजनामा सरकार रहेको बताए । उनले यस वर्ष बेडको संख्या थप्ने र सेवाको स्तर वृद्धि गर्ने योजना अनुसार काम भइरहेको जानकारी दिए । यसै वर्ष २ सय ५१ अस्पतालमा १५ बेडका दरले ३ हजार २ सय २५ वटा बेड थप गरिने राज्यमन्त्री यादवले बताए । अस्पताल विकास समिति तथा विभिन्न पदाधिकारी नियुक्ति, फेरबदलभन्दा गुणस्तरीय सेवामा ध्यान केन्द्रित गरिएको यादवले जानकारी गराए । 
सांसद कृष्णभक्त पोख्रेलले अस्पतालको सेवा सुविधा सुधार र बिस्तारका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।  


२० वर्ष पहिले सेवा सुरु गरेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अहिले ४ सय ५० बेडमा सञ्चालन भइरहेको छ । देश तथा विदेशका गरी दैनिक ७ सय बिरामीले उपचार गराउँदै आएको अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले बताए । 
गएको ४ वर्षमा क्यान्सर अस्पतालबाट ४ लाख ८९ हजार ४ सय ८७ जनाले ओपीडी सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालमा हाल ७ सय १७ जना कर्मचारी कार्यरत रहेका छन् ।  
२०४८ साल चैतमा तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको चीन भ्रमणका क्रममा तत्कालीन चिनियाँ प्रधानमन्त्री लि फङ्गबीच द्विपक्षीय सहयोग अन्तर्गत नेपालमा क्यान्सर अस्पताल स्थापना गर्ने समझदारी भएको थियो । त्यसपछि अहिलेसम्म चीनले क्यान्सर अस्पताललाई सहयोग गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस