किन समाते चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले सालका गोलाई बोकेका ८ ट्रक ?

प्रकाश सिग्देल

विहीबार, ०९ असोज २०७६, १७ : १५
किन समाते चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले सालका गोलाई बोकेका ८ ट्रक ?

- प्रकाश सिग्देल
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले पूर्वबाट काठमाडांै जाँदै गरेको सालको गोलाई बोकेको ८ वटा ट्रक नियन्त्रणमा लिएर राखेको छ । ट्रक किन नियन्त्रणमा लिइएको भन्ने कुरा न ट्रकका चालकलाई थाहा छ न प्रहरीहरुलाईनै । हेटौडामा बास बसेर बिहान काठमाडांैका लागि हिँडेको ट्रक गोन्द्राङ्ग पोष्टले आफूहरुलाई समातेको ट्रकका चालकहरु बताउँछन् । सिन्धुलीको डकाहा र बेलटारबाट काठ ल्याएको एक ट्रकमा ४०० क्युफिटको हाराहारीमा काठ रहेको चालकहरु बताउँछन् । वनका अधिकृतहरुले चेक गरेर नम्वर र टाचा लगाएर पठाएको काठ बाटोमा किन रोकियो भन्ने आफुहरुलाई केही जानकारी नभएको र प्रहरीले केही खवर पनि नदिएकाले बसिरहेको चालकहरुको भनाइ छ ।

गोन्द्राङ्गको ट्राफिकले आफूलाई रोकेर कागजात लिएको र एक छिनपछि कुरा मिल्यो भन्दै पुःन कागज फिर्ता दिएको अनि आफू हिड्नै लाग्दा फेरी कुरा मिलेन रे कागज दिनुस भन्दै कागज मागेको एक जना ट्रक चालकले बताए । त्यसपछि प्रहरीले प्रहरी कार्यालय परिससरमा ल्याएर राखेको चालक बताउँछन् । ट्रकहरु किन समातिएको हो भन्ने प्रश्नमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरिक्षक दानबहादुर मल्लले माथिको आदेशले समातेको बताउनुभयो । रेकर्डमा बोल्न नमानेका उहाँले कागज पत्र मागि माथि पठाएको बताउँदै, खास कुरा आफूलाई पनि जानकारी नभएको प्रतिक्रिया दिनुभयो । माथिबाट निर्देशन आएपछि साँझसम्म छाडिने उहाँको भनाइ थियो ।

यो विषयमा कार्यालयका अन्य सिनियर तथा जुनियर अधिकृतहरुले आफूहरुलाई केही थाहा नभएको बताए । प्रहरीले ना ४ ख ७९५२, ना ४ ख १६८७, ना ३ ख ४५५३, ना ५ ख ५६११, ना ४ ख ९४८२, ना ३ ख ६६०३, ना४ख २२१०, र ना ४ ख ८९२१ नम्वरको सालको गोलाई बोकेको ट्रक समातेको हो । त्यस्तै ना ६ ख ७०१५ नम्वरको ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सो ट्रकबाट नरम जातको काठ चितवन हँुदै पूर्व लाने क्रममा नियन्त्रणमा लिएको हो । 

प्रतिक्रिया दिनुहोस