चितवन मेडिकल कलेजसँग विद्यार्थी र अभिभावकको वार्ता जारी, दुबै पक्षको अडान कायमै

उर्गेन तामाङ

शनिबार, ०४ असोज २०७६, १५ : १३
चितवन मेडिकल कलेजसँग विद्यार्थी र अभिभावकको वार्ता जारी, दुबै पक्षको अडान कायमै

चितवन । चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थी, कलेज प्रशासन र अभिभावकबीच जिल्ला प्रशासन कार्यलय चितवनमा वार्ता चलिरहेको छ । 

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहबरमा आज बिहान १० बजे सुरु भएको वार्ता ५ घण्टा बित्दा पनि टुंगिएको छैन । विद्यार्थीहरुले अबैध रुपमा कलेजले लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने मागमा अडान लिएका छन् । कलेजका तर्फबाट शुल्क फिर्ता गर्न नसकिने बताएको स्रोतले जनाएको छ । 

विद्यार्थी र कलेजका प्रतिनिधिले अडान नछड्दा वार्ता लम्बिँदै गैरहेको छ । आज जसरी भए पनि समस्या एक तरिकाले समाधान गर्ने गरि वार्ता चलिरहेको छ । 

वार्तामा सिएमसिका प्रमुख प्राडा हरिसचन्द्र न्यौपानेसँग प्रकाश चन्दको नेतृत्वमा विद्यार्थीहरु वार्तामा रहेका छन् । पत्रकारहरुलाई वार्तास्थलमा प्रवेश दिइएको छैन । 

कलेजका विद्यार्थीहरु अबैध रुपमा बढी लिइएको शुल्क फिर्ता गर्नुपर्ने लगायत विभिन्न माग गर्दै बिगत लामो समयबाट चरणबद्ध आन्दोलनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस