खेलकूद र स्टेशनरी सामान वितरण

विहीबार, ०२ असोज २०७६, १६ : ४९
खेलकूद र स्टेशनरी सामान वितरण

चितवन । नारायणगढ रोटरी क्लबले आज इच्छाकामना गाउँपालिकामा रहेको राष्ट्रिय आधारभुत विद्यालयमा करिब चालिस हजार रुपेयाँ बराबरको खेलकूदका सामग्रीसहित विद्यार्थीहरूलाई स्टेशनरी सामानहरू वितरण गरेको छ । 

विगतका वर्षहरूमा उक्त रोटरी सामुदायिक गाउँमा शिक्षा, स्वास्थ्य र सीपमुलक एवम् आयमूलक तालिमहरूका साथै विद्यालयको भौतिक विकासमा सहयोग र पठनपाठनको सिलसिलामा विद्यार्थीहरूका लागि आवश्यक खेलकूद र स्टेशनरीका सामग्रीहरू वितरण गर्दै आइरहेको क्लबका अध्यक्ष सुसनलाल प्रधानले बताए । 

विद्यालयका प्रधानाध्यापक गोपी सिलवालले रोटरी क्लबले विद्यालयलाई हरेक वर्ष सहयोग उपलब्ध गराउँदै आएको बताउनुकासाथै विद्यालयको शौचालय जीर्ण भएको हुँदा सो निर्माणमा सहयोग जुटाइदिन समेत अनुरोध गर्नुभयो । 
इच्छाकामना–७ का वडा सचिव सुरेश थापाको समेत उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा रोटरी सामुदायिक गाउँका संयोजक टेकबहादुर थापाले विद्यालयको मन्टेश्वरी कक्षा सञ्चालन र सो कक्षाका लागि आवश्यक तालिमप्राप्त शिक्षिकाका लागि नारायणगढ रोटरी क्लबले सहयोग प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरे । 

क्लबले हाल चितवनमा व्याप्त डेङ्गु रोगको बारेमा सचेतना सम्बन्धि कार्यक्रम समेत सोही अवसरमा सम्पन्न गरेको छ । इच्छाकामना–७, खेतबारीका वडा सचिव सुरेश थापाले शिक्षक, अभिभावक, विद्यार्थीहरू लगायत स्थानीय जनसमुदायहरूलाई डेङ्गु रोग र यसबाट बच्ने उपायहरूको बारेमा जानाकारी दिनुभएको थियो । नारायणगढ रोटरी क्लबका अध्यक्ष सुसनलाल प्रधानले भरतपुर महानगरपालिका कार्यालयको सहयोगमा उक्त रोटरी सामुदायिक गाउँमा डेङ्गु रोग सचेतनाका लागि पर्चा वितरण गरेको बताए । 

वर्ष २०२०÷२१ का लागि निर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा नारायणगढ रोटरी क्लबका निवर्तमान अध्यक्ष रमेश पौडेल, पूर्व अध्यक्षहरू चुननारायण श्रेष्ठ, सुमनकुमार श्रेष्ठ, राजेन्द्र ओली, सञ्जय श्रेष्ठ, उपाध्यक्ष अरुणकुमार खनाल लगायत सह–सचिव दिलीप तामाङको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस