सिड्नी । अस्ट्रेलियाको शैक्षिक क्षेत्र नियमनकारी निकाय एएसक्युएले २७ वटा कलेजहरूको दर्ता खारेज गर्ने निर्णय गरेको छ । व्यावसायिक शिक्षा तथा प्राविधिक तालिम दिइरहेका यी कलेजहरूलाई गत सेप्टेम्बर १० तारिखमा आसक्वाले दर्ता खारेज गर्ने निर्णय गरेको हो ।
आसक्वाले नीजि क्षेत्रद्वारा संचालित कलेजहरूले तोकिएका न्यूनतम मापदण्डहरू पूरा नगरेको भेटिएमा तिनीहरूको दर्ता खारेजी गर्दछ ।
अस्ट्रेलियन स्किल क्वालिटी अथोरिटी एएसक्युएले यो निर्णय गरे तापनि सम्बन्धित कलेजले माथिल्लो निकायमा पुनरावेदन गर्ने अधिकार भने रहन्छ ।
यसअघि पनि विभिन्न भेट कलेजहरूको दर्ता खारेजी हुँदा ती कलेजमा अध्ययनरत विद्यार्थीहरूले समस्या भोग्नुपरेको थियो । त्यस्तो समस्या भोग्नेहरूमा नेपाली विद्यार्थीहरू पनि उल्लेख्य मात्रामा थिए ।
यसरी बारम्बार व्यावसायिक शिक्षा तथा तालिम दिने कलेजहरूको दर्ता खारेजी हुनुले यस्ता कलेजहरूको गुणस्तरमाथि प्रश्न मात्र उठ्ने होइन यसले अस्ट्रेलियाको समग्र शैक्षिक प्रणालीमाथि पनि प्रश्न चिह्न उठाउने काम गरेको देखिन्छ ।
अस्ट्रेलियामा शैक्षिक गुणस्तरियतालाई कायम राख्नका लागि आसक्वाले कलेजहरूको नियमन गर्ने प्रक्रिया पहिलेदेखि नै चलिआएको हुनाले यसलाई नौलो मान्नुपर्ने आवश्यकता नरहेको कानुन व्यवसायी डा शमशेर सिंह थापा बताउँछन् ।
उनी भन्छन्, “दर्ता खारेजीमा परेका कलेजहरूले सो निर्णयविरुद्ध पुनरावेदन गर्न सक्छन् । पुनरावेदनपश्चात् ती निर्णयहरू सदर वा बदर हुन सक्छन् । यो पहिलेदेखि नै भइरहेको प्रक्रिया हो । पहिले पनि धेरै भोकेसनल अर्थात् व्यावसायिक कलेजहरूको दर्ता खारेज भएर बन्द भएका अनि पुनरावेदनपश्चात् निर्णय बदर भएर पुनः सञ्चालनमा आएका पनि छन् । अझ, कतिपय मामिलाहरूमा कलेज संचालकहरूले आर्थिक प्रलोभनमा परेर आफैले कलेज रद्द गराएका घटना पनि छन् । यसतर्फ सम्बद्ध सबै पक्षहरू सचेत हुनु जरुरी छ ।”
प्रतिक्रिया दिनुहोस