डेंगु र लामखुट्टे

डेंगु लागेको कसरी थाहा पाउने ?

यसो गरौँ, लामखुट्टेको टोकाइबाट बच्नका लागि

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०७६, १२ : ४८
डेंगु लागेको कसरी थाहा पाउने ?

काठमाडौँ । डेंगु नियन्त्रणका लागि अहिले विभिन्न पहल भइरहेको छ । लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान चलिरहेको छ ।

डेंगुबाट हामी अझै पनि सुरक्षित भइसकेका छैनौं । त्यसैले डेंगुबारे केही सर्तकता अपनाउनुपर्ने अवस्था छ ।

एडिज प्रजातिको लामखुट्टे दिउँसो सक्रिय हुन्छ । झट्ट हेर्दा सजिलै देखिदैन । रगत चुसेर गए पनि यसलाई मार्दा रगत देखिदैन । बरु टोकेको ठाउँमा चिलाउन थाल्छ । त्यहाँ बिबिरा देखापर्छ ।

एडिज प्रजातिको यही लामखुट्टे हो, जसले डेंगुको भाइरस सार्छ । लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टेको नियन्त्रण आवश्यक छ ।

पुरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्ने महल्म पनि पाइन्छ, त्यस किसिमको महल्म पनि प्रयोग गर्न सकिन्छ । झ्याल र ढोकामा जाली लगाउनुपर्छ । झुलभित्र सुत्नु बढी सुरक्षित हुन्छ ।

लामखुट्टे फैलन नदिनका लागि लामखुट्टे फैलने ठाउँहरु जस्तै जमेको पानी, फोहोर आदि राख्नुहुँदैन । घर आसपासमा पानी जम्ने खाल्डो छ भने पुर्नुपर्छ । पानी जम्न दिनु हुँदैन । पानीको ट्यांकी, दहीको कतारो, बाल्टिन, ड्रम आदिमा बिक्रो लगाउनुपर्छ ।

त्यती मात्र होइन, चिया पिउने कप, बोत्तल आदिमा थोरै पानी जमेको छ भने त्यहाँ पनि अन्डा पार्ने भएकाले त्यसलाई उचित तरिकाले राख्नुपर्छ, ताकि त्यहाँ पानी जम्न नपायोस् ।

घरआँगन सफा राख्ने । पानी जम्ने खाल्डा पुर्ने । बरण्डा, छत आदिमा पनि पानी जम्ने गर्छ । कतिपय भाँडावर्तन बाहिर राखिने र त्यहाँ पनि पानी जम्ने भएकाले ति सबैमा पानी जम्न दिन हुँदैन ।

डेंगुको संक्रमण फैलाउने लामखुट्टेले सफा पानीमा अन्डा पार्नेगर्छ । त्यसैले सफा पानी पनि एउटै भाँडोमा खुला नराख्ने, लामो समय नराख्ने ।

फूलको गमला लगायतमा समेत पानी जम्न नदिने । वाथरुम, कमोड बराबर फ्लश गर्ने । कुनैपनि स्थानमा खानेपानीको पाइप चुहिने र पानी जम्ने भइरहेको छ भने त्यसको मर्मत गर्ने ।

डेंगु लागेको कसरी थाहा पाउने ? 

 यसको लक्षण हेरेर त्यही अनुसार उपचार अपनाउनु पर्छ । यसर्थ डेंगुको लक्षण के हो ? बुझ्न जरुरी छ ।

डेंगु संक्रिमत लामखुट्टेले टोकेको छ भने त्यसको सबैभन्दा पहिलो लक्षण हो, ज्वरो । अचानक ३ देखि ५ दिनसम्म ज्वरो आउँछ । यो निकै उच्च ज्वरो हुन्छ । ज्वरो पाँचदेखि सातदिनसम्म रहन सक्छ ।

टाउको दुख्छ । आँखाको गेडी दुख्छ । शरीरमा डाबर आउँछ । खाना खान मन लाग्दैन । पेट तथा आन्द्रामा गडबडी हुन्छ ।

कतिपय अवस्थामा चाहि सुरुमै शरीरभरी खटिरा देखापर्छ । त्यस्तै शरीरमा डन्डिफोर जस्तै डाबर देखापर्छ । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुन्छ । गोरो वर्णको मान्छेमा डाबर देखिएपनि कालो वर्णको मान्छेमा त्यस्तो नदेखिन सक्छ ।

अब के गर्ने ?

डेंगु ज्वरो भाइरसको कारणले हुने भएकाले विशेष किसिमको कुनै उपचार छैन । डेंगु बिरुद्धको कुनै खोप छैन । तर, यसको संक्रमण भइसकेपछि लक्षण हेरेर सोही अनुसार उपचार गरिन्छ । सुरुमा त ज्वरो घटाउनुपर्छ । यसका लागि सिटामोल दिन सकिन्छ ।

पर्याप्त मात्रामा झोल पदार्थ दिन सकिन्छ । यद्यपि घरमै राखेर उपचार गर्नु उचित हुँदैन । तुरुन्तै चिकित्सककहाँ पुर्‍याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस