के नेपाल आउलान् चिनियाँ राष्ट्रपति सी जिनफिङ ?

चिनियाँ केन्द्रीय सुरक्षा ब्यूरोका एक टोली आगामी साता काठमाडौं आउने र उक्त टोलीको मूल्यांकन पछि मात्र राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण हुने –नहुने टुंगो लाग्ने

सफल खबर संवाददाता

विहीबार, २६ भदौ २०७६, ०७ : ५३
के नेपाल आउलान् चिनियाँ राष्ट्रपति सी जिनफिङ ?

काठमाडौं । चिनियाँ राष्ट्रपति नेपाल आउलाने की नआउलान ? नेपालमा यो बहस लगातार तीन वर्ष यता राजनीतिक वृत्तमा चल्दै आएको विषय हो । अहिलेका प्रधानमन्त्री केपी ओलीको पहिलो कार्यकाल देखि यो विषय चर्चामा छ ।

त्यसयताका प्रधानमन्त्री प्रचण्ड , शेरवहादुर देउवा हुदै फेरि ओलीसम्म नेपालका प्रधानमन्त्री भईसकेका छन् । यी सवै नेताहरुले आफ्नो कार्यकालमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने बताईरहेकै छन् ।

तर चिनियाँ पक्षले राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणका विषयमा अहिलेसम्म औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन ।

चिनियाँ अधिकारीहरु जो सुकै हुन्, उनीहरुका एउटै आवाज हुन्छ,– ‘राष्टपति सि नेपाल आउन इच्छुक हुनुहुन्छ, उहाँ छिट्टै नेपाल आउनुहुुन्छ ।’

चिनियाँ पक्षले भनेको त्यो छिट्टै कहिले हो ? अझै टुंगो लागेको छैन । तर पछिल्लो पटक चिनियाँ विदेश मन्त्री वाङ यी ले नेपाल भ्रमण गर्नु, उनले भक्तपुरमा चिनियाँ सरकारको सहयोगमा निर्माणाधिन दरवार स्क्वायरको अवलोकन भ्रमण गर्नुले अब भने चिनियाँ राष्ट्रपतिको साच्चै नेपाल भ्रमण हुन लागेको आंकलन भईरहेको छ ।

प्रधानमन्त्री केपी ओलीले वुधबार बसेको पार्टी सचिवालय बैठकमा अव चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने जानकारी नेताहरुलाई गराएका छन् । उनले विदेशमन्त्री वाङको नेपाल भ्रमण राष्ट्रपतिकै भ्रमणको पूर्व तयारीका लागि भएको जानकारी पार्टी बैठकमा नेताहरुलाई गराएका थिए ।

उनले दुई मुलुकबीचको सम्बन्ध र कतिपय द्धिपक्षिय विषयमा सहमति गर्न राष्ट्रपतिकै तहमा भ्रमणको तयारी शुरु भईसकेको र त्यसैका लागि विदेशमन्त्री वाङ नेपाल आएको पार्टी बैठकमा जानकारी गराएका थिए ।

तर उनले आउने नआउने विषयमा भने पार्टी बैठकमा नेताहरुलाई आस्वस्त पार्न सकेनन् ।

एक स्रोतका अनुसार, यो पटक भने चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने नै गरी चिनियाँ पक्षले तयारी गरेको छ ।

राष्टपति सिको सुरक्षामा जिम्मेवार रहेको केन्द्रीय सुरक्षा ब्यूरोका एक टोली आगामी साता काठमाडौं आउने तयारी गरेको स्रोतले बतायो । उक्त टोलीको मूल्यांकन पछि मात्र राष्ट्रपति जिनफिङको नेपाल भ्रमण हुने नहुने निर्णयमा चिन पुग्ने बताईएको छ ।

राष्टपति सि भारत जाने बेलामा नेपाललाई पनि ट्रान्जिट बनाउने गरी असोज २५, २६ मा नेपाल आउन सक्ने आंकलन नेपालका सरकारी अधिकारीहरुले बनाएका छन् ।

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका वेला ठूला परियोजनामा कुनै सहमति , सम्झौता नभएको र मात्र खाली देखाउनका लागि मात्र सहयोगको घोषणा भएको भन्दै आलोचना भईरहेका बेला वाङ अहिले कुनै सहमति सम्झौताका लागि भन्दा पनि राष्ट्रपतिको भ्रमणकै तयारीमा रहेकोले यस्ता आलोचनाले केही अर्थ नराख्ने प्रधानमन्त्रीले पार्टी बैठकमा विफ्रिङ समेत गरेको सचिवालयका एक नेताले बताए ।

‘ठूला विषय अहिले नपर्नु भन्नुको अर्थ नै राष्ट्रपतिको भ्रमणका विषयमा ति विषय टुंग्याउने भन्नु हो,’ प्रधानमन्त्रीले पार्टी नेताहरुलाई विफ्रिङ गर्दै भनेका थिए । अमेरिकाले इन्डो प्यासेफिक रणनीतिमा नेपालको धारणा फेरि माग गरिरहेका वेला पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुनेमा नेपाली पक्ष विस्वस्त देखिएको छ ।

राष्ट्रपति सीको नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले निम्तो पठाईसकेकी छिन् ।  

प्रतिक्रिया दिनुहोस