नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को कमजोरीका कारण चिनियाँ ह्याकरहरुले गरेका थिए लुटपाट

सफल खबर संवाददाता

मंगलबार, २४ भदौ २०७६, १२ : ४४
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को कमजोरीका कारण चिनियाँ ह्याकरहरुले गरेका थिए लुटपाट

काठमाडौं । केही वाणिज्य बैंक र विकास बैंकको कारोबारको जिम्मा लिएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को कमजोरीका कारण चिनियाँ ह्याकरहरुले विभिन्न बैंकको तीन करोड ५० लाख बराबरको रकम लुटपाट गरेको खुलासा भएको छ । 

सुरक्षित र भरपर्दो कारोबारको प्रतिवद्धता जनाउँदै बैंकहरुसँग सम्झौता गरेको नेप्सले समयमै सावधानी नअपनाउँदा ह्याकरले आधा दर्जन वाणिज्य बैंकको रकम लुटपाट गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

चिनियाँ ह्याकरहरुले गत शनिबार नेप्सले सफ्टवेरमा मालवेयर पठाएर सिस्टम ह्याक गरी एनआइसी एशिया, प्रभु, ग्लोवल आइएमइ, जनता, सनराइज र सिद्धार्थ बैंकको नक्कली भिसा कार्ड प्रयोग गरी नविल, इन्भेष्टमेन्ट र नेपाल एसबिआई बैंकको एटीएम बुथबाट रकम लुटेका थिए । यति हुँदासम्म पनि बैंकिङ प्रणालीको सुरक्षाको जिम्मा लिएको नेप्सले भने पत्तै पाएन । 

ह्याकरले आफ्नो सिस्टममा आक्रमण गरेको पत्तै नपाउनुले नेप्सको व्यवस्थापकीय क्षमता र सफ्टवेरको सुरक्षा कस्तो छ भन्ने प्रष्ट भएको छ । एटीएम ह्याक प्रकरणमा बैंकहरुको कुनै गल्ती, कमीकमजोरी देखिएको छैन । भुक्तानी सेवा प्रदायक नेप्सको असावधानीका कारण ह्याकरले रकम चोरी गरेको तथ्यहरुले पुष्टि गरेको छ । 

नेप्सको सेवा लिएबापत बैंकहरुले सदस्यता शुल्क र कारोबारको आधारमा वार्षिक रु एक करोड ५० लाखदेखि रु ४ करोडसम्म रकम बुझाउँदै आएका छन् । यसरी ग्राहकसँग शुल्क लिएर जिम्मा लिएपछि त्यसको क्षतिपूर्तिको जिम्मेवारी पनि नेप्सले नै लिनुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । 

एटीएम बुथमा कार्ड घोटेर रकम भुक्तानीका लागि रिक्वेस्ट आएपछि ग्राहकको विवरण र पिन नम्बर चेक गरेर यो ग्राहकलाई भुक्तानी गर्न हुन्छ कि हुँदैन भनेर सम्बन्धित बैंकलाई जानकारी दिनुपर्छ । तर हामीलाई कुनै सूचना नै नदिई नेप्सले भटाभट भिसालाई भुक्तानी गरे हुन्छ भन्दिनुको पछाडि भने रहस्य देखिएको छ । 

आफ्नो सिस्टममा ह्याकर छिरेर अवाञ्छित गतिविधि गरिरहेको नेप्सले थाहा नपाउनु दुखद भएको बताइन्छ । अस्वभाविक गतिविधि भएको भनेर नविल बैंकका कर्मचारीले सूचना दिएपछि नेप्सले प्रहरीलाई खबर गर्नुपर्नेमा नेप्स चुपचाप बसेको थियो । 

घटना भएको ४ दिनसम्म पनि नेप्सले प्रहरीलाई खबर नगरेपछि महानगरीय प्रहरी परिसरले बयानका लागि बोलायो । नेप्सको प्रणालीमार्फत् दैनिक करिब १ अर्ब रुपैयाँको हाराहारीमा कार्डमार्फत् कारोबार हुँदै आएको छ । यति ठूलो कारोबारको जिम्मेवारी लिएपनि अहिलेसम्म नेप्सले जोखिमको बीमा नगरी कारोबार गरेको थियो । 

पूर्णरुपमा सुरक्षाको ग्यारेन्टी नगरेसम्म बैंकहरु नेप्ससँग कारोबार गर्न डराइरहेका छन् । यद्यपि राष्ट्र बैंकले सेवाग्राहीलाई मध्यनजर गर्दै एटीएम सेवा अवरुद्ध नगर्न निर्देशन दिएपछि भने बैंकहरुले डराई डराई भए पनि नेप्सबाटै कारोबार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस