डरलाग्दो बन्दै डेङ्गु, छ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०७६, १४ : ५५
डरलाग्दो बन्दै डेङ्गु, छ जनाको मृत्यु

काठमाडौँ । वैशाख अन्तिम साताबाट सुनसरीको धरानदेखि फैलिएको डेंगु संक्रमितको संख्या बढ्दै गइरहेको छ । हालसम्म ५६ जिल्लामा फैलिसकेको डेङ्गुबाट ६ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म प्रदेश नं १ को ९ , प्रदेश नं २ को ७, प्रदेश नं ३ को १२, गण्डकी प्रदेशको १०, प्रदेश नं ५ को ११, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशको ५ जिल्ला गरी देशभर ५६ जिल्लामा डेंङ्गुको संक्रमण फैलिएको छ । 

अहिलेसम्म डेंगुको संक्रमणबाट ६ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । मृत्यु हुने मध्ये काठमाडौँमा २ र सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक—एक जना रहेका छन् । 

साउन १ गते देखि भदौ २२ गते सम्म ३ हजार ८ सय ९९ जना डेंगुको नयाँ बिरामी थपिएको महाशाखाले जनाएको छ । 

थपिएको यो संख्या सँगै वैशाखदेखि यता बिरामीको संख्या ७ हजार नाघेको जनाइएको छ ।  साउन १ देखि २२ सम्म प्रदेशगत रुपमा हेर्ने नै भने सबै भन्दा धेरै संक्रमित र मृत्यु हुनेको संख्या प्रदेश नं ३ मा देखिएको छ ।

 प्रदेश नं ३ मा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने साउनदेखि यता २ हजार १० जना नयाँ बिरामी थपिएका छन् । यस्तै साउनदेखि यता प्रदेश नं १ मा ८३१, प्रदेश नं।२ मा ३९, गण्डकी प्रदेशमा ८९६, प्रदेश नं। ५ मा ९७, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २३ मा डेंगुको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस