ढुक्क भएर लगानी गर्न चिनियाँ टोलीलाई पूर्वमन्त्री शर्माको आग्रह

उर्गेन तामाङ

आइतबार, २२ भदौ २०७६, १६ : १७
ढुक्क भएर लगानी गर्न चिनियाँ टोलीलाई पूर्वमन्त्री शर्माको आग्रह

चितवन । पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले नेपालमा लगानीको वातावरण बनेको बताउँदै ढुक्क भएर लगानी गर्न चिनियाँ टोलीलाई आग्रह गरेका छन् । 

भरतपुर महानगरपालिकाले आइतबार भरतपुरमा आयोजना गरेको चिनियाँ लगानीकर्ताहरुसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् । 

नेपाल सरकार लगानीको वातावरण, सुरक्षा र जग्गा उपलव्ध गर्न प्रतिवद्ध रहेकाले सहकार्य गर्दै अघि बढ्न शर्माले आग्रह गरेका थिए । उत्पादनमुलक उद्योग, पर्यटन, कृषि तथा जलविद्युुतका उद्योगको सम्भावना प्रशस्तै रहेकोले सहकार्य गरी दुवै पक्षले यसको फाइदा उठाउनु पर्नेमा नेता शर्माले जोड दिए । यस कार्यमा स्थानीय र प्रदेश सरकारले पनि सहयोग गर्ने उनको भनाइ थियो । 

उनले चितवनमा बन्दै गरेको नमुना औद्योगिक पार्कको अवधारणा अनुसार सयौँ उद्योगहरु खुल्ने र स्थानीयसँगै समग्र मुलुक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । दुवै पक्ष प्रतिवद्ध भए सहकार्यका कामहरु चाँडै अघि बढ्ने पनि उनले बताए ।  

प्रदेश नम्बर तीनका सांसद मिलनबाबु श्रेष्ठले पर्यटन, कृषि तथा जलस्रोतमा ठुला लगानीका लागि वातावरण बनेकोले सहकार्य गर्न चिनियाँ प्रतिनिधिलाई आग्रह गरेका थिए । 

भरतपुर महानगर प्रमुख रेनु दाहालले चीन र नेपालबिचको पुरानो सम्बन्धलाई कायम राख्दै नयाँ सम्बन्ध बिस्तार गरिरहेको उल्लेख गरिन् । यसअघि २ वटा सहरसँग भगिनी सम्बन्ध कायम भइसकेकोले चाँडै नै छाङ सिटीसँग पनि सम्बन्ध कायम गर्ने तयारी रहेको र यसले नेपालमा चिनियाँ लगानीका लागि थप विश्वासिलो बातावरण बन्दै गएको दाहालको भनाई छ ।

उनले राजनीतिक स्थिरता र संघीय व्यवस्थाले नेपालमा स्वर्णीम युग सुरु भइसकेको अहिलेको अवस्थामा चिनियाँ लगानी निकै महत्वपूर्ण रहने बताइन् । उनले स्मार्ट सिटीका विविध पाटो, रिङरोड, मेट्रो रेल, नारायणी विकास तथा पर्यटन विकासका ठुला पुर्वाधारमा सहकार्य गर्न महानगर तयार रहेको उल्लेख गरिन् । उनले वान बेल्ट वान रोड परियोजनासहितका कार्यक्रममा हातेमालो गर्न तयार रहेकाले सहकार्यलाई चिनियाँ पक्षले अझ बलियो बनाउनु पर्नेमा जोड दिइन् । 

चिनियाँ टोलीका संयोजक फन जिआवोले नेपाल सम्भावनाको खानी भएकाले आवश्यक सहयोग र लगानी गर्न चीन तयार रहेको उल्लेख गरे । उनले सहकार्यका लागि आफूहरु प्रतिवद्ध रहेको बताए । कार्यक्रममा महानगर र चिनियाँ पक्षले लगानीको वातावरण, सम्भावना, चुनौती लगायतका विविध विषयमा डेढ घण्टा छलफल गरेका थिए । 

कार्यक्रममा चितवनका उद्योगी व्यवसायीहरुको पनि सहभागिता रहेको थियो । चिनियाँ टोलीले चितवनको कालिका नगरपालिकामा बन्दै गरेको औद्योगिक पार्कको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । फन नेतृत्वको ४३ सदस्यीय चिनियाँ टोली छलफलका लागि आइतबार भरतपुर आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस