उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई भरतपुर महानगरको सम्मान

उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित नारायणी नमुना माविले पायो एक लाख रुपैयाँ

उर्गेन तामाङ

आइतबार, २२ भदौ २०७६, १२ : ००
उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई भरतपुर महानगरको सम्मान

चितवन । भरतपुर महानगरपालिकाले ४०औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । 

महानगरपालिकाले दिवसको सन्दर्भ पारेर आइतबार नारायणी नमुना माविमा एक कार्यक्रम गरी १० विधामा विद्यालय, शिक्षक तथा विद्यार्थी गरी ८३ जनालाई सम्मान गरेको हो ।  

महानगरपालिकाले एसईईमा ८० दशमलव २९ प्रतिशत अंक ल्याउन सफल नारायणी नमुना माविलाई महानगरभित्रको उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित गरेको छ । 

सामुदायिक विद्यालयतर्फ एसईईमा ७४ दशमलव ३३ प्रतिशत ल्याई द्वितीय हुन सफल प्रेमबस्ती माविलाई नगद ७५ हजार र प्रशंसापत्र र ६९ दशमलव ३३ प्रतिशत ल्याई तृतीय हुन सफल आदिकवि भानुभक्त माविलाई नगद ५० हजार र प्रशंसापत्रसहित सम्मान गरिएको छ । 

संस्थागततर्फ ८८ दशमलव ९५ प्रतिशत अंक ल्याई प्रथम हुन सफल लिटिल फ्लावर स्कुल नारायणगढ, ८६ दशमलव २० प्रतिशत अंक ल्याई द्वितीय हुने वाल्मिकी शिक्षा सदन र ८४ दशमलव ७२ अंक ल्याई तृतीय भएको सनराइज इङ्ग्लिस स्कुललाई प्रशंसापत्रसहित सम्मान गरिएको महानगरपालिकाका नगर शिक्षा अधिकारी सिताराम कोइरालाले जानकारी दिए । 

उनका अनुसार विभिन्न मापदण्डका आधारमा सामुदायिकतर्फ उत्कृष्ट हुन सफल राष्ट्रिय आधारभूत विद्यालय हनुमाननगरलाई नगद ५० हजार र प्रशंसापत्रसहित सम्मान गरिएको छ । उत्कृष्ट प्रारम्भिक बाल विकास केन्द्रतर्फ जानकी मावि मेघौलीमा सञ्चालित बाल विकास केन्द्रलाई नगद ५० हजार र प्रशंसापत्रसहित सम्मान गरिएको नगर शिक्षा अधिकारी कोइरालाले बताए । 

महानगरपालिकाले २०७६ भदौ २२ देखि २०७७ भदौ २२ गतेसम्म अनिवार्य अवकास हुने विभिन्न विद्यालयका २३ जना शिक्षकलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ । 

यस्तै २०७५ सालमा कक्षा ८ मा सबभन्दा धेरै औसत जीपीए प्राप्त गर्ने विषय शिक्षकहरु सामुदायिकतर्फ १५ जना र संस्थागततर्फका ९ जना शिक्षकलाई प्रशंसापत्र प्रदान गरिएको छ । कक्षा ८ मै बढी जीपीए अंक प्राप्त गर्ने सामुदायिकतर्फ नारायणी नमुना मावि र संस्थागततर्फ भृकुटी इङ्ग्लिस बोर्डिङ स्कुललाई प्रशंसापत्रले सम्मान गरिएको छ ।

महानगरपालिकाले २०७५ सालमा सामुदायिक विद्यालयतर्फ कक्षा ८ मा सबभन्दा बढी जीपीए ४ प्राप्त गर्ने लक्ष्मी मावि भरतपुर ४ लंकुका परीक्षार्थी अनुसुया घिमिरे र संस्थागततर्फ सिर्जना इङ्ग्लिस स्कुल भरतपुर ९ का अच्युत गौतम, पोलार स्टार इङ्ग्लिस बोर्डिङ स्कुलकी परीक्षा पौडेल र वाल्मिकी शिक्षा सदन भरतपुर ४ का सुविन अधिकारीलाई नगद र प्रशंसापत्रले सम्मान गरिएको थियो । 

कक्षा १० मा सामुदायिक विद्यालयतर्फ सबैभन्दा धेरै औसत जीपीए प्राप्त गर्ने ५ जना र संस्थागतर्फका ६ जना विद्यार्थी र प्राविधिक शिक्षातर्फका एक जना परीक्षार्थीलाई नगद र प्रशंसापत्र प्रदान गरिएको थियो । 

महानगरपालिकाले दिवसकै अवसरमा यसअघि भएको माविस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल नारायणी नमुना माविका अविरल आचार्यलाई पाँच हजार, द्वितीय हुन सफल सनराइज इङ्ग्लिस स्कुलकी श्रेया सुवेदीलाई चार हजार, तृतीय हुन सफल वाल्मिकी शिक्षा सदनकी आकांक्षा पौडेललाई तीन हजार नगद, सान्त्वना स्थान हासिल गर्न सफल ग्रिनल्यान्ड पब्लिक स्कुलकी स्मारिका घिमिरे र अरोमा इङ्ग्लिस स्कुलका सौगात आचार्यलाई नगद दुई÷दुई हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

अन्तर शिक्षक कविता प्रतियोगितामा प्रथम भएका भानु मावि पहारिलोटारका शिक्षक पूर्णप्रसाद भट्टलाईसात हजार, द्वितीय लिटिल फ्लावर स्कुलका नवराज ढकाललाई ६ हजार, तृतीय हुने नयाँ किरण मावि भरतपुरका कृष्णप्रसाद चालिसेलाई पाँच हजार, सान्त्वना हुन सफल ज्ञानदर्शन इङ्ग्लिस बोर्डिङ स्कुलका खगिसरा भुसाल र पोलार स्टार इङ्ग्लिस बोर्डिङ स्कुलका शिक्षक दयानिधि अर्याललाई तीन–तीन हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । 

कार्यक्रमकै अवसरमा लायन्स क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ नारायणगढ नारायणीले संयुक्तरुपमा नारायणी नमुना माविलाई तीन थान कम्प्युटर सहयोग गरेको छ । ती कम्प्युटर सेट लायन्स क्लब नारायणगढ बालकुमारीका निवर्तमान अध्यक्ष बालगोपाल चुके र नारायणगढ नारायणीकी अध्यक्ष राममाया जोशीले विद्यालयका प्राचार्य टेकनाथ पौडेललाई हस्तान्तरण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस