क. प्रचण्ड चितवन तिमीसँग बिल्कुल रिसाएको छैन

सफल खबर संवाददाता

आइतबार, १५ भदौ २०७६, १२ : ०६
क. प्रचण्ड चितवन तिमीसँग बिल्कुल रिसाएको छैन

–सुदिप सुवेदी

राजनैतिक परिवर्तनको जंघार तर्न नपाउँदै राज्य व्यवस्थामा पनि परिवर्तन हुन पुगेको नेपालमा गणतन्त्र वयस्क हुन पाएको छैन भने संघीयताले आफ्नो खुट्टामा उभिन सकेको छैन । एकात्मक शासन व्यवस्थाबाट संघात्मक शासन प्रणालीमा परिवर्तन गर्न मुलुकले धेरै मुल्य चुकाउनु परेको घाम जस्तै छर्लंग छ । राजनैतिक एवं प्रशासनिक जटिलता परिवर्तनस“गै जोडिएर आएका हुन्छन् । यसले प्रशासनिक व्यवस्थापनको पनि विकाश गरेको हुन्छ । 

चितवन जिल्ला एउटा विचित्रको जिल्ला हो । यहाँ ७७ वटै जिल्लाका मानिसहरु बसोबास गर्छन् । चेतनाको हिसाबले उन्नत जिल्लाको रुपमा पर्ने गर्दछ चितवन । शैक्षिक हिसाबले ७७ प्रतिशत जनसंख्या साक्षर छ । मानव विकास सूचांकका हिसाबले ०.५२० (मध्यम स्तर) रहेको छ भने मानव गरिबी सूचांक ३१.९ (न्युनस्तर) रहेको छ । औसत आयु ७० बर्ष रहेको यस जिल्लामा १५३७ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेको छ । 

पूर्व र पश्चिमको विश्रामस्थल एवं सूचनाको सम्प्रेषण गर्ने काम यही जिल्लाबाट हुने गर्दछ । मेचिदेखि महाकालीसम्म एकै दिनमा सूचना सम्प्रेषण गरेर आफुलाई अब्बल जिल्लाको रुपमा स्थापित गरेको छ चितवनले । तर विगत केही दिनदेखि चितवनलाई बिसञ्चो भएको छ, बलात्कृत भई मूर्छित गलेको छ । बोल्ने र व्यक्त गर्ने आँट छैन । साँच्चै नै बिरामी पीडामा छ । हजारौं मान्छेद्वारा लुछिएको छ । शान्त र शालीन चितवन एकाएक अशान्त किन ? चितवनले न्याय खोजिरहेछ ।

चितवनले कहिल्यै रगतको खोलो मागेन । ठूला राजनैतिक परिवर्तनमा बाहेक कहिल्यै तातेन । तर यस पटक चितवन किन निरीह भयो ? चितवनको माग सधैँ विकास र सम्वृद्धि थियो तर अहिले किन... ?

२०७४ साल मंसिर २१ गते संघीय तथा प्रादेशिक चुनाव भयो । मुलुकका शक्तिशाली कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड चितवनबाट चुनाव लडे । अत्याधिक बहुमतले चुनाव जिते पनि । यो जितसँगै चितवन खुशीले गद्गद् हँुदै विकास र सम्वृद्धिमा अगाडि बढ्यो । हुन पनि किन खुशी नहोस् अहिलेसम्म चितवनले यत्रो ठूलो कद भएको नेता भेट्टाएको थिएन । मुलुकमा हुन नसकेको औसत विकासको लहर भरतपुर र चितवनमा भने माथि नै रह्यो ।


बर्षेनी अर्बौं बजेट नियमित र रकमान्तर गरेर चितवनको भूभागमा सिञ्चित भैरह्यो । राष्ट्रिय गौरवका आयोजनाहरु शुरु गरियो, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक विकास, महिला सशक्तिकरण, सूचना प्रविधिको विकास र खोज तथा अनुसन्धान जस्ता विषयले भरतपुर र चितवन अब्बल रह्यो । यो चिज चितवनकै जनताले रोजेको नेताबाट भएको थियो । तर यो कुरा चितवन र भरतपुरको डाहा गर्ने कुत्सित मानसिकता बोकेका मानिसलाई पचेन, र चितवनको भाग्य र भविष्य माथि खेलवाड गर्दैछन् । राज्यका अन्य भुभागमा के भयो ? म त्यो जान्दिन तर चितवनमा गएको दुई वर्षमा भएको विकास यसभन्दा अगाडि दश वर्षमा पनि हुन सकेको थिएन । 

कानुनको नजरमा अभियुक्त भएको मानिस चितवनको हिरासतमा ल्याइनु र उसलाई कानुनी प्रकृयामा प्रवेश गराउनु कसरी चितवनका जनप्रतिनिधि र मुलुकको कार्यकारीस“ग जोडिन्छ ? मैले नबुझेको कुरा कुनै पनि गैह्रकानुनी काम गरेको व्यक्ति छानबिनको दायरामा पर्छ । दोषी भए कानुनी कारबाही हुन्छ । हाम्रो देशको अवस्था साँच्चै नै दयनीय, नागरिक गरिब छन् भन्ने कुरा विभिन्न सूचांकले  देखाउँछ । यस देशका नागरिकको चेतनास्तर कमजोर छ । यसको अर्थ यो हैन कि यहाँका नागरिक ठीक छैनन् अथवा यो देशमा कोही पनि ठीक छैन । कुनै पनि चिज ठिक छैन भनेर यस देशमा सपना खोजिरहेका युवाहरुलाई निरासा बाँड्ने छुट कसैलाई छैन ।

सम्पूर्ण प्रणालीको विरुद्वमा लागेका मान्छेहरुले यो देशको शासन सत्ता जनतामा आएको, विकास र समृद्धितर्फ अगाडि बढेको बिल्कुल मन परेको छैन । संघीयता कार्यान्वयनको चरणमा छ, जनताले चाहेजति विकास भएको छैन । दुरदराजको जनताले पनि संसार चाहारेर विकासको नमुना देखेको छ । 

चितवनको हकमा जनताले मुक्तकण्ठले लिने नाम हो प्रचण्ड र रेणु । किनकि चितवन र भरतपुर महानगरको विकासको सूचांक पनि अर्को आलेखमा प्रस्तुत गर्नेछु । 

विकासको फड्को मारेको र जनताहरु खुशी भएको देख्न नसक्नेहरु बिनाकारण आरोपित गर्दैछन् । सोझा जनतालाई अमुक व्यक्तिको देवत्वकरण गर्दै सम्पूर्ण प्रणालीमाथि प्रहार भैरहेको छ । चितवन छियाछिया भएको छ । चितवनको मन दुखेको छ । चितवनले श्राप दियो भने कोही पनि टिक्नेवाला छैन । कसैले सामन्ती शासन फर्काउँछु भनेर दिवासपना नदेखे हुन्छ । किनकि यो चितवन हो ।

चितवनले एक एक हिसाब राम्ररी राख्न जानेको छ तर जनताको नजरमा बसिरहेको नेतालाई सोझा जनता ल्याएर भड्काउन खोजे पनि बिर्सन सक्ने छैन । चितवनले खोजेको विकास र समृद्धिमात्र तिम्रो अभिभावकत्वमा सम्भव छ । त्यसैले क. प्रचण्ड केही मानिस सडकमा उफ्रिँदैमा सिङ्गो चितवन तिमीसँग किञ्चित रिसाएको, डराएको छैन । हुन त तिमीले पनि ३ वटा जिल्लालाई पारपाचुके गर्यौ । कतै तिमीले यही निहुँमा चितवनलाई पनि पारपाचुके गरेर चौथो त बनाउदैनौ ? चितवनलाई छोडेर कास्की त रोज्दैनौ नि ? तर  म बिल्कुल तिमीस“ग पारपाचुके गर्ने छैन । किनकि तिमी मेरो हौ । हाम्रो मायाले हुर्किदै गरेको विकास र समृद्विलाई जनताले अनुभूत गर्ने गरी हाम्रो निसानी छोड्नु छ ।

प्रतिक्रिया दिनुहोस