मन्त्री महासेठको गाडीमा ट्राफिक प्रहरीको ह्विल लक

बुधबार, ११ भदौ २०७६, १४ : १८
मन्त्री महासेठको गाडीमा ट्राफिक प्रहरीको ह्विल लक

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा ट्राफिक नियम मिच्ने भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक गरी गाडी चालकलाई कारबाही गरिएको छ । 

मन्त्रीको झण्डावाल गाडी बा २ झ ४८६२ नम्बरको गाडीले ट्राफिक नियम मिचेपछि ट्राफिक प्रहरीले ह्वील लक लगाएको थियो । 

ट्राफिक प्रहरीले मन्त्रीको गाडी चालकलाई जथाभावी पार्किङ गरेको भन्दै कारवाही गरेको हो । चालक शीवराम थापालाई कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिए ।

जथाभावी पार्किङ गरेकोमा चालकलाई एक हजार जरिवाना गर्ने व्यवस्था रहेको एसएसपी पन्तले बताए । यो घटनासँगै नियम विपरित यातायात साधन पार्किङ गर्ने र नियम नमान्नेहरु जोकोही भएपनि ट्राफिक प्रहरीले नछाड्ने नीति लिएको स्पष्ट भएको छ ।

पैदल यात्रु हिँड्ने बाटो बढी मिचेर गाडी रोकिएपछि पैदलयात्रु मारमा परेका थिए । तर उक्त समयमा मन्त्री भने गाडीमा नरहेको जनाइएको छ । ट्राफिक नियम मिचेको देखेपछि नयाँ बानेश्वर क्षेत्रमा ह्वील लक बोकेर हिडेका ट्राफिक प्रहरीले ह्वील लक लगाएका थिए ।

पैदल यात्रुले ट्राफिक प्रहरीको यस्तो कदमको खुलेर प्रशंसा गरेका थिए । ट्राफिक प्रहरीले मन्त्रीको गाडी चिन्दाचिन्दै पनि ह्वील लक लगाएका थिए । तस्बिर : नागरिक खबरबाट  

प्रतिक्रिया दिनुहोस