तारेखमा हिरासतमुक्त भएपछि अस्मिताले व्यक्त गरिन् खुसी

उर्गेन तामाङ

मंगलबार, १० भदौ २०७६, १६ : ५५
तारेखमा हिरासतमुक्त भएपछि अस्मिताले व्यक्त गरिन् खुसी

चितवन । पत्रकार सालिकराम आत्महत्या प्रकरणमा मुछिएकी अस्मिता कार्कीले आफूलाई चितवन जिल्ला अदालतले सादा तारेखमा रिहा गरेपछि खुसी व्यक्त गरेकी छिन् । अस्मिताले आफूलाई अदालतले न्याय दिएको भन्दै खुसी व्यक्त गरेकी हुन् । आज भरतपुरमा पत्रकारसँग कुरा गर्दै कार्कीले सबैलाई सहयोगका लागि धन्यवाद पनि दिएकी छिन् । 
अदालतले आफूलाई निर्दोष देखेर न्याय दिएको बताउँदै कार्कीले अब चाँडै मुद्दा किनारा लाग्ने विश्वास व्यक्त गरेकी छिन् । विभिन्न मिडियासँगै सामाजिक सञ्जालमा घर, कोठा खोज्ने, प्रेम सम्बन्ध लगायतका विषयमा प्रचारबाजी गरेकोप्रति उनले दुःख व्यक्त गरेकी छिन् । 
कानुन व्यवसायी निमा गिरीले व्यक्तिलाई समाजमा राम्रो वातावरणमा बाँच्न दिने गरी सबैले भूमिका खेल्नुपर्नेमा जोड दिइन् । गिरीले जे जस्तो भए पनि अब कार्कीलाई प्रेरणा दिनुपर्ने बताइन् । निर्दोष देखिएकाले उनलाई हौसला दिनुपर्ने गिरीको भनाइ छ । गिरीले कार्कीको तर्फबाट अदालतमा निःशुल्क बहस गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस