‘उ अब कहिल्यै फर्केर आउने छैन’

सोमबार, ०२ भदौ २०७६, १६ : १३
‘उ अब कहिल्यै फर्केर आउने छैन’

– साकार लामा
आज एक व्यक्तिलाई अन्याय भयो भन्दै हजारौं मान्छे सडकमा उर्लिएका छन्,लाखौंले सामाजिक संजालमा विरोध प्रकट गरेका छन् र अधिकाशं व्यक्तिहरुको मनमा सञ्चारकर्मी रवि लामिछानेप्रति सहनुभुति छ । लामिछाने सरर्र गाडी चडेर स्टुडियोमा आउँछन। कालो चिल्लो कोट लगाएर चट्ट परेर टेलिभिजनको पर्दामा देखिन्छन्। केही हदसम्म आवरणमा देखिँदा समाजका विकृति,विसंगति र गलत तत्वको पर्दाफास पनि गर्छन। 
गोरो वर्ण,अग्लो कदसहित भारी स्वर गर्दै फोन लगाउदै केही मान्छेका समस्या समाधान गरिदिदै गरेको देख्दा कुनै चलचित्रको नायक नै हुन् कि भन्ने पनि भान पर्छ। अमेरिकी सभ्यतालाई नजिकबाट देखेका लामिछाने तर्क शक्ति,वाककला र आत्मविश्वासले भरिपुर्ण छन्।व्यापारिक ब्रान्डको विज्ञापन गर्ने, रिबन काट्नेदेखि लिएर देशविदेश डुल्दै नेपालीको समस्या समाधान गर्ने मसिहासम्मको रोलमा देखा पर्छन्। निकिता पौडेलदेखि करिश्मा मानन्धरसम्मले मन पराउने लामिछानेको व्यक्तित्व लोभलाग्दो नै छ।
कुनै वेला हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्नेहरु राजाको सट्टा रवि प्यारो छ भन्न थालेका छन्। सारा संसार रवि लामिछानेको पछाडि छ तर,फेरि समाजले एक पात्रलाई फाजिलमा राखेको छ,किनारामा मिल्काएको छ।
आज 'रवि दाइ' ब्रान्ड स्क्रिन अगाडि बन्दै गर्दा नुवाकोटको एक युवाले पनि त्यस उपलब्धिका लागि कुनैवेला आफ्ना हाड घोटेको थियो। पर्दा अगाडि नायक रवि थिए, पर्दा पछाडि शालिकरामका रातदिन मजदुरीले पनि केही न कही टेवा पुर्याएको थियो। आज कारण जेसुकै होला तर एक श्रमजिवि शालिकराम पुडासैनीले जीवन गुमाए, एक पिताले साहारा गुमायो, उनको आमाले काख गुमाईन र उनको पत्नीबाट टेक्ने धरती खोसियो तर,यो कुरा बुझिदिने कसलेरु 
युटुवमा भिडियो हेरेर,टिभि हेरेर,फेसबुक हरेर अर्थात बाहिरी आवरण हेरेर धारणा बनाउने समाजले के शालिकरामलाई बुझ्ने प्रयास गर्ला? यो समाजले हेरेको उनको पहिलो र अन्तिम भिडियो नै त्यो ‘सुसाइड भिडियो नोट’ वा ‘डाइङ डिक्लेरेसन’ रह्यो। आँशुका धारा बगाउँदै निकै भाबुक भएर आफ्नो पीडा पोख्दा पनि समाजले उनीप्रति रत्तिभर सहानुभूति देखाएन। भिडियो हेर्ने लाग्दै गर्दा यो रविलाई फसाउन गरिएको प्रपन्च हो भन्ने फैसलासहितको पुर्वाग्रही दृष्टिले पत्रकार पुडासैनीका रोदनहरुलाई अर्थहीन बनायो। मान्छेले ज्यान गुमायो त्यो मतलब छैन तर कसरी षड्यन्त्र गरियो भन्नेतर्फ हामीहरुले दिमाग लगाउन थाल्यौँ।
आज पत्रकार पुडासैनीले हारे,आवरणले जित्यो। समाजले सधैँ बलियाकै वकालत गर्छ, निमुखा त फाजिलमा फालिन्छन्। समाज सुन्दर र शक्तिशालीकै पछाडि लाग्छ भन्ने त थाहा थियो तर यति संवेदनहीन छ भन्ने विश्वास थिएन। लामिछानेका लागि गोली थाप्न तयार हुने छातीहरुमा पुडासैनीको लागि जाबो सहनुभुती समेत काहिँ कतै देखिएन। तपाईंहरुको रवि दाई त केवल छानबिनका लागि हिरासतमा गएका हुन,निर्दोष भए ससम्मान फेरि फर्कनछन् तर, त्यो गरिबको छोरा शालिकराम पुडासैनी जो परिस्थिति सगं लाड्दालड्दै मर्यो, उ अब केहिले पनि फर्केर आउने छैन ।

प्रतिक्रिया दिनुहोस