राष्ट्रपतिका दबाबमा बामदेवलाई उपाध्यक्ष !

राष्टपति विद्यादेवी भण्डारीले नेकपाको कार्यविभाजन प्रस्तावमा खेल्न खोजेको माधव नेपाल पक्षको आरोप

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०७६, ०७ : ४२
राष्ट्रपतिका दबाबमा बामदेवलाई उपाध्यक्ष !

काठमाडौं । नेकपा नेताहरुको कार्यविभाजन प्रस्तावमा राष्टपतिले हस्तक्षेप गरेको आरोप लागेको छ । वरिष्ठ नेता माधव नेपाल पक्षले अहिले त्यस्तो आरोप लगाउन थालेको हो ।

नेता वामदेव गौतमलाई पार्टी विधानमै नभएको उपाध्यक्ष पद विद्यान संसोधन गरी सिर्जना गर्ने र दिने अनि स्कुल विभागमा पनि इश्वर पोखरेललाई नै अगाडी बढाउनु पर्नेमा राष्टपति भण्डारीले प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीलाई दबाब दिएको नेपाल पक्षका नेताहरुले बताएका छन् ।

‘राष्टपतिले नै हाम्रो पार्टी नेताहरुको कार्यविभाजन प्रस्तावमा प्रेसर दिएका छन् । उहाँले पार्टी नेताहरुलाई पटक पटक शित्तल निवासमा बोलाई यो विषयमा छलफल समेत गरेको खुलेको छ,’ माधव नेपाल पक्षिय एक केन्द्रीय सदस्यले सफल खबरसँग भने, –‘त्यसपछि नै पार्टी विधानमै नभएको उपाध्यक्ष पद सिर्जना गरेर बामदेवलाई त्यो पद दिने प्रस्ताव आएको हो ।’

राष्ट्रपति भण्डारीले नेताहरु गौतम, इश्वर पोखरेल र विष्णु पौडेललाई बोलाएर पटक पटक छलफल गरेको र प्रधानमन्त्री ओलीलाई पार्टीभित्र आफ्नो समुह बलियो बनाउन सुझाएको नेपाल पक्षको आरोप छ ।

राष्ट्रपति भण्डारी तत्कालिन एमाले पार्टीभित्र उपाध्यक्ष थिइन् । ओली पक्षबाट उपाध्यक्ष बनेकी भण्डारी संविधान निर्माणपछि भने राष्ट्रपति निर्वाचित भएकी थिइन् ।

राष्ट्रपति भएपछि तटस्थ्य बस्नुपर्ने सम्वैधानिक प्रावधान भएपनि कुनै न कुनै रुपमा राष्ट्रपतिले नेकपाभित्र चलखेल भने गर्न छोडेकी छैनन् ।

केन्द्रमा पद्मा अर्याल र थममाया थापामगरलाई मन्त्री बनाउन देखि प्रदेश १ र ३ का मुख्यमन्त्रीहरुलाई मुख्यमन्त्री बनाउन राष्ट्रपति भण्डारीकै प्रेसर ओलीमाथी थियो ।

अहिले पनि उनले बामदेव गौतमलाई उपाध्यक्ष बनाउन, इश्वर पोखरेललाई स्कुल विभाग प्रमुख बनाउनका लागि दबाब बढाएका कारण ओली त्यो निर्णयमा अडिएको नेपाल पक्षको आरोप छ ।

प्रचण्डलाई समेत ओलीले आफ्नो योजना पूरा गर्नका लागि अनेक आश्वासनको पुलिन्दा बडेको र आफ्नो योजना अनुसारको नेताहरुको कार्यविभाजनमा हाबी भएको नेपाल पक्षको आरोप छ ।

शुक्रबारको सचिवालय बैठकमा एक्कासी गौतमलाई उपाध्यक्ष बनाउने र त्यस्तो प्रस्ताव स्थायी समिति बैठकबाट निर्णय गराउने सचिवालय बैठकले निश्र्कष निकालेको थियो ।

राष्ट्रपति भण्डारीले आफ्ना श्रीमान् मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई पार्टीभित्र स्थापित गराउनका लागि बामदेव, इश्वर हरुलाई परिचालन गर्ने नीति अनुसार ओलीमाथी दबाब बढाएको स्रोतको दाबी छ ।

पोखरेलले पार्टीको अहिलेको कार्यदिशा जनताको जनवादको विपक्षमा निरन्तर वकालत गर्दै आईरहेका थिए । पछिल्लो चरण बामदेवले पनि जवजलाई कार्यदिशा मात्र होइन, माक्र्सवाद, लेनिनवाद झै सिद्धान्त नै बनाउनु पर्ने र समाजवादलाई कार्यदिशा बनाउनु पर्ने पक्षमा लेख नै लेखे ।

राष्ट्रपति भण्डारीसँगको छलफल पछि नै गौतमले धाराबाहिक रुपमा जवजलाई सिद्धान्त बनाउनु पर्ने पक्षमा लेखहरु लेखेका थिए ।

गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव सचिवालयमा इन्ट्री भएको विषयमा नेपालले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग जानकारी लिएका थिए । शनिबार नेता नेपाल र प्रचण्डका बीचमा नेपालको निवास खुमलटारमा छलफल भएको थियो ।

‘तपाई त जवजको बहस महाधिवेशनमा लैजाने भन्नुहुन्थ्यो, तर अहिले जवजकै वकालत गरेर पार्टी कार्यदिशाकै विपक्षमा बोलेका नेताहरुलाई धमाधम पद दिन थाल्नुभएको छ, कसरी आयो बामदेव लाई उपाध्यक्ष दिने प्रस्ताव ?’ नेपालले प्रचण्डसँग शनिवार बिहान भएको छलफलमा जिज्ञासा राखेको नेपाल पक्षका ती नेताले बताए ।

प्रचण्डले भने पार्टी एकतालाई बलियो वनाउन र अझै कार्यविभाजनमा नअल्झिनका लागि मात्र आफुले सहमति जनाएको जवाफ नेपाललाई दिएको स्रोत बताउँछ ।

तर नेपाल पक्षले राष्ट्रपतिले कार्यविभाजन प्रस्ताव भित्र खेलेको विषयमा कत्तिको जानकार हुनुहुन्छ भन्दै प्रचण्डलाई जिज्ञासा समेत नेपालले राखेको स्रोत बताउँछ । 

प्रतिक्रिया दिनुहोस