नारायणगढका भारतीय ब्यापारीसँग नेपाली नागरिकता, जसले हुण्डीमार्फत करोडौँ रकम पठाउँछन् भारत

प्रकाश सिग्देल

सोमबार, २७ साउन २०७६, १६ : ५२
नारायणगढका भारतीय ब्यापारीसँग नेपाली नागरिकता, जसले हुण्डीमार्फत करोडौँ रकम पठाउँछन् भारत

चितवन । नारायणगढका दर्जनौँ भारतीय ब्यवसायीले नेपाली नागरिकता लिएको खुलेको छ । नाम चलेका कपडा पसलदेखि, मोटर पार्ट्स, पाउरोटी उद्योग, कस्मेटिक होलसेलदेखि अन्य विभिन्न उद्योग संचालकहरुले किर्ते कागजात तयार पारी नेपाली नागरिकता लिएकोे खुल्न आएको हो । 
नारायणगढमा लामो समयदेखि ब्यापार गर्दै आएका भारतीयहरुले आन्तरिक राजस्व कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय चितवनमा पेश गरेको कागजपत्रको विवरणले पनि यस्तो देखाएको छ । ब्यवसायीले विगतमा राजस्व र घरेलु तथा साना उद्योग कार्यालयमा भारतीय दूतावासको सिफारिस सहितका भारतीय कागजात प्रयोग गरेको र पछि त्यसलाई परिर्वतन गरी नेपाली कागजात र नागरिकता पेश गरी ब्यवसाय दर्ता गरेको पाइएको हो । 
यहाँ ब्यवसाय गर्ने भारतीय ब्यवसायीले भारतसंग सीमा जोडिएका तराईका जिल्लाहरुबाट नागरिकता लिएका छन् । २०६२÷६३ को जनआन्दोलन पछाडि भारतीयहरुले नागरिकता लिएको र केही वर्ष नागरिकता गोप्य रुपमा राखेर अहिले मात्रै उनीहरुले सरकारी कामकाजमा प्रयोगमा ल्याउन थालेको सरकारी अधिकारीहरुले बताएका छन् । 
नेपालमा कुनै नाता र सम्बन्ध नै नभएका सारा सन्तान भारतमै रहेका कछाड बाँधेर नेपाल छिरेर यहाँ ब्यवसाय गरी करोडपति बनेकाहरु सबैको हातमा नेपाली नागरिकता रहेको सरकारी अधिकारीहरुले बताएका छन् । नेपाली नागरिकता लिनेहरुको सारा परिवार अहिले पनि भारतमै रहेको र पखाला लागे पनि भारतमै उपचार गर्न जाने गरेको बताइन्छ । 
नेपाली नागरिकता लिनेहरुले आफ्नो नाममा नारायणगढमा घर खरिद गर्ने, भाडामा लगाउने, करोडौँ रकम कमाउने र भारत पठाउने गरेका छन् । उनीहरुले नेपालको कमाई हुण्डीमार्फत भारत पठाउने त्यसको अलावा नवलपरासीका बस्तीहरुसंग जोडिएका साना नाकाहरुबाट पैसा  भारत छिराउने गरेको एक ब्यवसायीले बताए । 
नवलपरासीको प्रतापपुर गाउँपालिका क्षेत्रका केही नाकाहरुमा नेपाल प्रहरीको उपस्थिति नहुने र त्यहाँ भारतीय प्रहरीले कुनै निगरानी र चेक जाँच नगर्ने हुनाले त्यहाँबाट अवैध कारोबार बढी हुने गरेको ब्यवसायीहरुले बताएका छन् । 
हामीले चितवनका कुन कुन ब्यवसायीले नेपाली नागरिकता लिएका छन् ? त्यसको प्रमाणसहित सबैको नालिबेली प्रस्तुत गर्ने तयारी थालेका छौँ । अब किर्ते गरी नेपाली नागरिकता लिने भारतीयको पर्दाफास गर्नेछौँ ।

प्रतिक्रिया दिनुहोस