पत्रकार पुडासैनीको हत्या भएको परिवारको दाबी, छानबिन गर्न माग

उर्गेन तामाङ

मंगलबार, २१ साउन २०७६, १३ : ५४
पत्रकार पुडासैनीको हत्या भएको परिवारको दाबी, छानबिन गर्न माग

चितवन । नारायणगढको एक होटलमा मृत फेला परेका पत्रकार सालिकराम पुडासैनीको हत्या भएको मृतकको परिवारजनले दाबी गरेका छन् । 
सालिकरामका कान्छो भाई राजु पुडासैनीले आत्महत्या नभई कसैले षड्यन्त्रपूर्वक हत्या गरेको हुन सक्ने बताएका हुन् । उनले भने, ‘एउटा खुट्टा खाटमाथि टेकिएको अवस्थामा रहनु, छेउमा अग्लो टेबुल रहनु र कोठाको भ्mयाल खोलेर बाहिर जाने अवस्था रहनुले पनि हत्या भएको हुन सक्छ ।’ 
उनले सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरेका छन् । सत्यतथ्य बाहिर नआउञ्जेल शव नबुझ्ने उनको भनाई छ । उनका अनुसार पारिवारिक रुपमा केही दिनअघि नयाँ काम गर्ने सल्लाह भएको थियो । दाजु सालिकरामले परिवारलाई चितवन जानेबारे केही जानकारी नगराएको उनले बताए । 
माउण्टेन टिभीमा कार्यरत पत्रकार सालिकराम सोमबार राति कोठाभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नारायणगढ बसपार्कमा रहेको होटल कंगारुको २०२ नम्बर कोठामा मृत फेला परेका हुन् । उनको साथमा पत्रकार परिचय पत्र, सवारी चालक अनुमतिपत्र लाइसेन्स, नगद ५ हजार, २ वटा बैंँकको एटीएम फेला परेको प्रहरीले जनाएको छ । 
नुवाकोट विदुर नगरपालिका ३ घर भई हाल काठमाडौंमा कार्यरत पुडासैनी सोमबार राति सवा दस बजे उनी बसेकै कोठामा मृत भेटिएका हुन् । माउन्टेन टिभीमा जानुअघि उनी न्यूज २४ मा रवि लामिछानेसँगै काम गर्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस