धेरै कमाउने लोभमा अनुमति बिनै अरुको ब्राण्डमा पानी उत्पादन गर्दै उद्योगी, पानी निर्देशिका कडाईका साथ पालना गराउन आवस्यक

प्रकाश सिग्देल

सोमबार, २० साउन २०७६, १८ : २३
धेरै कमाउने लोभमा अनुमति बिनै अरुको ब्राण्डमा पानी उत्पादन गर्दै उद्योगी, पानी निर्देशिका कडाईका साथ पालना गराउन आवस्यक

चितवन । चितवनका केही पानी उद्योगीहरुले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयबाट अनुमति नलिई अरुको ब्रांण्डमा पानी उत्पादन गर्ने गरेको पाइएको छ । उद्योगीहरुले धेरै पैसा कमाउने लोभले होटलहरुको ब्राण्ड राखेर स्टीकर छाप्ने र त्यही स्टीकर लगाएर होटललाई बिक्री गर्ने गरेका हुन् । 
चितवनका अधिकांस नाम चलेका साना तथा ठुला होटलले आफ्नै ब्राण्डका पानी बिक्री गर्ने गरेका छन् । यहाँका होटलले पानी आफैले भने उत्पादन गर्दैन्न । तिनै पानी उद्योगीले ब्यवसायीको ब्राण्ड हालेर उत्पादन गरिदिने गरेका छन् । पानी उद्योग धेरै खुलेपछि आफ्नै ब्राण्डको पानी बिक्री गर्दा बढी मूल्य लिन पनि नपाइने र उपभोक्तावादी संघसंस्थाले पनि मूल्यदेखि गुणस्तरका कुरामा बढी निगरानी गर्न थालेपछि उद्योगीहरुले अर्को विकल्प सोची ब्यवसायीहरुको ब्राण्ड राखी पानी उत्पादन गर्न थालेका हुन् । 
यसरी पानी उत्पादन गर्न कानुनले भने बन्देज लगाएको छ । यसरी अरुको ब्राण्डमा पानी उत्पादन गर्दा उद्योगीले अनिवार्य रुपमा स्वीकृति लिनु पर्ने हुन्छ । तर चितवनमा भने कुनै पनि ब्यवसायीले अनुमति नलिएको र धमाधम होटल ब्यवसायीहरुको ब्राण्डमा पानी उत्पादन गरी उनीहरुलाई बिक्री गर्दै आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरीक्षक प्रदीप काफ्लेले बताउनु भयो । 
यसरी पानी उत्पादन गर्न नपाइने र आफूहरुले अनुगमनका क्रममा हिँड्दा पनि यस्तो पानी भेटिएकाले अब सबै उद्योगीलाई यस्तो नगर्न आग्रह गर्ने, दर्ता र अनुमतिबिनै उत्पादन गरे कारबाही हुने उहाँ बताउनु हुन्छ । आजका मितिसम्म अनुमति लिएको आफूहरुले जानकारी नपाएको बताउँदै उहाँ जसको ब्राण्डमा पानी उत्पादन गर्ने हो, त्यो ब्राण्डले अनुमति लिनु पर्ने बताउनु हुन्छ ।
प्रशोधित पिउने पानी सम्बन्धी निर्देशिका २०७४ को परिच्छेद २ को अनुज्ञापत्र सम्बन्धी ब्यवस्थाको (ख) मा अनुज्ञापत्र प्राप्त उद्योगले आफ्नो उत्पादनको प्रत्येक ब्राण्ड ÷टे«डमार्क÷प्याकेजिङ्ग र साईजको लागि अनुमति लिनु पर्ने ब्यवस्था रहेको छ । (ग) मा अन्य संघसंस्थाको लागि प्रशोधित पानी प्याक गर्न विभागबाट अग्रीम स्वीकृति लिनुपर्ने उल्लेख छ ।
चितवनका केही उद्योगीले पानीको बोतल पनि कम गुणस्तरको उत्पादन गर्ने गरेको बताइएको छ । निर्देशिकामा बिर्को नभएको अवस्थामा बोतलको तौल अनिवार्य २० ग्राम हुनु पर्ने उल्लेख छ । तर केही ब्यवसायीले १८ ग्रामको बोतल उत्पादन गर्ने गरेको भेटिएको बताइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख बिक्की राउतले पानी निर्देशिका अनिवार्य रुपमा कडाईका साथ लागु र पालना गराउन आफूहरु सक्रिय भएको बताउनु भयो ।
निर्देशिकामा भएका धेरैजसो बुँदाहरु पालना भइसकेका र ससाना बिषयहरु केही बाँकी रहेको तथा ब्यवसायीलाई सहभागी गराएर निर्देशिकामा उल्लेख भएका बिषयहरुबारे जानकारी प्रदान गर्ने काम आफूहरुले गरेको उहाँ बताउनु हुन्छ । चितवनका सबै उद्योगीले अटोमेटिक पलान्ट राखिसकेको र अब धेरै सुधारको बाटोमा गएको उहाँको भनाई छ ।
केही उद्योगीले अरुको ब्राण्ड राखेर पानी उत्पादन गर्ने गरेको आफूहरुले पाएको र अब अनुमतिबिना यस्तो पानी उत्पादन गरे खाद्य ऐन अन्तर्गत कारबाही हुने उहाँ बताउनु हुन्छ । यस्तो भेटिएमा उद्योग नै बन्द गर्न सकिने उहाँको भनाई छ ।
नेपाल बोटल पानी उद्योग संघ चितवन नवलपुरका अध्यक्ष केशव घिमिरेले आफूहरुले पानी निर्देशिका पालना गरेको र विगतमा भन्दा अहिले चितवनमा पानीको गुणस्तरमा उद्योगी धेरै सचेत रहेको बताउनु भयो । आफूहरु उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराउन हरेक समय सचेत र प्रतिवद्ध भएको उहाँको भनाई छ । केही उद्योगीले अनुमति बिनै अरुको ब्राण्डमा पानी उत्पादन गरेको आफूले पनि जानकारी पाएको र कार्यालयले यो बिषयमा २ महिनाको समय सीमा दिएकाले दुई महिनाभित्र अनुमति लिन आफूले सबैलाई आग्रह गर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस