पल्सर बाइक चोर्ने तीन जना परे प्रहरीको फन्दामा

उर्गेन तामाङ

सोमबार, २० साउन २०७६, १८ : ११
पल्सर बाइक चोर्ने तीन जना परे प्रहरीको फन्दामा

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरीको आरोपमा पछिल्लोपटक बारा (साविक पिपरा भवानीपुर गाविस ५) घर भई चितवनको भरतपुर महानगरपालिका १२ बस्ने मुन्नाप्रसाद सिंह, भरतपुर महानगरपालिका २ का नवीन तामाङ र तनहुँ छिम्केश्वरी नगरपालिका ७ का यमबहादुर क्षेत्रीलाई पक्राउ गरेको छ । 
उनीहरुले भरतपुर महानगरपालिका ४ का अनिल राज भण्डारीको घरमा पार्किङ गरी राखेको २२० सिसीको ना ३० प ४०५१ नम्बरको पल्सर गएको साउन १४ गते रातिको समयमा चोरी गरेका थिए । प्रहरी टोलीले चोरी भएको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी पार्टपुर्जा खोलेको अवस्थामा भरतपुर १२ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता एकनारायण कोइरालाले बताए ।
पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार कानुनी कारबाहीका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डिएसपी कोइरालाका अनुसार अर्कै जिल्लामा चोरी भएको मोटरसाइकल पनि फेला पर्ने गरेको छ । 
जिल्ला बाहिर काठमाडौँ लगायतका अन्य विभिन्न स्थानमा चोरी गरिएको मोटरसाइकल चितवनमा ल्याएर बिक्री गर्ने गिरोहलाई केही समयअघि प्रहरीले पक्राउ गरेको थियो । नम्बर परिवर्तन गर्ने, पार्टपुर्जा परिवर्तन गर्ने, ग्राहक खोज्ने लगायतका अवैध क्रियाकालापमा संलग्न मोटरसाइकल वर्कसपका सञ्चालकसहितका गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबाट नक्कली ब्लुबुक, नम्बल प्लेट र अन्य सामग्री पनि बरामद गरेपछि चितवनमा मोटरसाइकल चोरीमा ठुलो गिरोह संलग्न भएको पुष्टि भएको थियो ।  

यसरी भाग्छन् मोटरसाइकल चोर
केही दिनअघि जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेकजाँचका क्रममा चोरीका २ वटा मोटरसाइकल फेला पारे तर चोर भने पक्राउ पर्न सकेनन् । प्रहरीकै अघिबाट उनीहरु भाग्न सफल भए । चितवन र नवलपुरको गैंडाकोटबाट हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको हो । ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार चोरीको मोटरसाइकल फेला परे पनि चोरीमा संलग्न व्यक्ति सजिलैसँग छुटिरहेका छन् । 
ट्राफिक चेकजाँचका क्रममा ब्लुबुक लगायत कागजपत्र नभएको मोटरसाइकल नियन्त्रणमा लिएर चालकलाई आवश्यक कागजपत्र लिएर आउन भनी छाड्ने गरिएको छ । यसैको मौका उठाँउदै ती व्यक्ति पछि लिन नआउने गरेको र हराएको लिष्टमा रहेकै मोटरसाइकल हुने गरेको छ । ट्राफिक प्रमुख गिरीले भने, ‘यसअघि कागजपत्र लिएर आउनु भनी छाड्ने गर्दा चोरलाई भाग्न सजिलो भएको पाइयो । अब ती व्यक्तिको पूरा जानकारी लिएरमात्रै छाड्छौँ, जसले गर्दा पछि पक्राउ गर्न सहज होस् ।’
डिएसपी कोइरालाका अनुसार अहिले ३ वटा मोटरसाइकल चोरीको मुद्दा चलिरहेको छ । चोरीको पुष्टि भए जनही २ देखि ७ वर्ष कैद र २० हजारदेखि ७० हजार रुपैँयासम्म जरिबाना हुने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस