राहतको कार्यक्रमसहित प्रदेश २ मा आउँछु : प्रम

पत्रपत्रिकाबाट

शनिबार, १८ साउन २०७६, ०७ : ५०
राहतको कार्यक्रमसहित प्रदेश २ मा आउँछु : प्रम

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँले प्रदेश २ मा बाढी र डुबानले पु¥याएको क्षतिबारे अवलोकन गर्न राहतको कार्यक्रमसहित जाने बताउनुभएको छ । 
उहाँले बाढी र डुबानको दीर्घकालीन समाधानका लागि समुदायलाई परिचालन गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिबाट पीडितको उचित व्यवस्थापनका लागि सरकार गम्भीर प्रयासमा रहेको समेत बताउनुभयो । 
सङ्घीय संसद्मा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग शुक्रबार बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बाढीपीडितको व्यवस्थापनमा तत्कालीनभन्दा पनि दीर्घकालीन समाधानका लागि सरकार प्रयत्नशील छ । ” उहाँले बाढी र डुबानका कारण हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । 
नेपाल कम्युनिस्ट पार्टी प्रदेश कमिटीको पहलमा भएको सो छलफलमा बाढी, डुबान, राहत वितरणमा भएका कमजोरी, बाढी र डुबानका दीर्घकालीन समाधानका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो । छलफलमा नेकपा प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेल, सांसद कल्याणी खड्का, रामेश्वर राय, सरला यादव, रेखा झा, जुलीकुमारी महतोलगायत सहभागी हुनुभएको थियो । 
सांसद जुलीकुमारी महतोले नदी कटानका क्षेत्रमा तत्काल तटबन्धन, तराईमा रहेको डुबान समस्याको दीर्घकालीन समाधानजस्ता विषयमा कुराकानी भएको बताउनुभयो । 
त्यस्तै, नेकपा प्रदेश २ का सचिव सुमन प्याकुरेलले चुरे र महाभारत क्षेत्रमा बढ्दो वन विनाश, विकासका नाममा जथाभावी कच्ची सडक निर्माण, पर्यावरणको ख्याल नगरी खोलिएका क्रसर उद्योगले तराईमा कटान र पुरुवा समस्या निम्त्याएको बताउनुभयो । उहाँले छिमेकी राष्ट्रले सडकका नाममा निर्माण गरेको ड्यामका कारण डुबान समस्या रहेकाले त्यसको दीर्घकालीन समाधानको बाटो पहिल्याउनसमेत प्रधानमन्त्रीसँग आग्रह गरिएको बताउनुभयो । 
उहाँले विदेशबाट फर्केपछि तराईको समस्यालाई आफ्नै आँखाले हेर्ने इच्छा प्रधानमन्त्रीले राख्नुभएको बताउनुभयो । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै प्याकुरेलले भन्नुभयो, “बाढी र डुबानको समस्यालाई सरकारले विशेष सम्बोधन गर्नेछ । म आफैँ बाढीपीडितको बीचमा आउनेछु । ”

लुम्बिनी गुरुयोजना सम्पन्न गर्न निर्देशन
यसैबीच, प्रधानमन्त्री ओलीले गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको दीर्घकालीन विकासका लागि अढाइ वर्षमा गुरुयोजना निर्माण कार्य सम्पन्न गर्न लुम्बिनी विकास कोषका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । 
कोषका संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएकाले लुम्बिनीलाई बौद्ध दर्शनको विशिष्ट अध्ययन केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न लुम्बिनी विकास कोषको बैठकमा रामग्राम, कपिलवस्तु आदि क्षेत्रको सर्वाङ्गीण विकास हुने गरी गुरुयोजना बनाउनसमेत निर्देशन दिनुभयो । बैठकमा कोषका अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको उपस्थिति रहेको थियो । 
कोषका उपाध्यक्ष अवधेश त्रिपाठीका अनुसार, रामग्रामको गुरुयोजनाको ‘ड्राफ्ट’ बनिसकेको छ । सो विषयमा पनि बैठकमा छलफल भएको थियो । कपिलवस्तु क्षेत्र वरपर बृहत्तर जग्गा अधिकरण गरेर त्यसको पनि गुरुयोजना बनाउन प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको उपाध्यक्ष त्रिपाठीले जानकारी दिनुभयो । 
उहाँका अनुसार, कपिलवस्तुदेखि लुम्बिनी भएर अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रामग्राम जोडेर बौद्ध परिपथको परिकल्पनासहित इलेक्ट्रिक मेट्रो रेलमार्ग बनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो । २०२० को भ्रमण वर्षलाई लक्षित गर्दै आगामी बुद्ध जयन्ती अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन हुनेगरी नेपालमा मनाउनेबारे आवश्यक तयारीका लागि निर्देशन प्राप्त भएको त्रिपाठीले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री ओलीलाई लुम्बिनी गुरुयोजनाको हालसम्म भएका कामको बारेमा कोषका पदाधिकारीले जानकारी गराउनुभएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस