गैंडाकोटमा ४ करोडको लगानीमा एग्रोमार्ट निर्माण गर्दै व्यवसायी

निजि क्षेत्रको लगानीमा नवलपुरकै नमुना बजार निर्माणहुँदै

प्रकाश सिग्देल

मंगलबार, १४ साउन २०७६, १९ : २५
गैंडाकोटमा ४ करोडको लगानीमा एग्रोमार्ट निर्माण गर्दै व्यवसायी

– प्रकाश सिग्देल
नवलपुर । गैंडाकोट ४ मा  एग्रोमार्ट नामक हाट बजार तथा मिनि मार्केट निर्माण तीव्र पारिएको छ । गैंडाकोट ४ झपर्दी पूर्वपश्चिम राजमार्ग छेउ जनक स्कुल अगाडि एग्रोमार्ट नामक नमुना बजार निर्माण गरीएको हो ।

नवलपुर जिल्लाकै नमुना बजार निर्माण गर्ने उदेश्य अनुरुप निजि क्षेत्रको झण्डै ४ करोड बढि लगानीमा एग्रोमार्ट निर्माण थालिएको हो । स्थानीय ६ जना प्रतिष्ठित व्यवसायीहरुको लगानीमा यहाँ बजार निर्माण कार्य धमाधम अगाडि बढाइएको छ । नुनदेखि सुनसम्म सबै पाउने गरी ६ जना व्यवसायी मिलेर ४ करोड बढि रकम लगानी गरी बजार निर्माण सुरु गरेको व्यवसायी शालिकराम घिमिरेले बताउनुभयो ।

जहाँ सुन्दर बातावरण मैत्री हरियाली बजार, व्यवस्थित पार्किङ्ग । सोलार बत्ति जडान, शौचालय, खानेपानीसहितको सुन्दर र नमुना बजार निर्माण हुने घिमिरे बताउनु हुन्छ । करिव १ बिघाह जग्गा १५ वर्षका लागी लिजमा लिएर ६१ वटा व्यवसायीक सटर र ६४ वटा हाटबजारका लागी सानो स्टल निर्माण गरी बजारको विकास गरेको उहाँको भनाइ छ । व्यवसायीक सटरमा नुनदेखि सुनसम्म पाइने र ६४ वटा हाटबजारका स्टलहरुमा शनिवार, सोमबार र बुधबार हाटबजार लगाउने उहाँको भनाइ छ ।



ग्राहकहरुले हप्तामा सातै दिन हाटबजारको माग गरे सातै दिन पनि बजार लगाउन सकिने उहाँ बताउनु हुन्छ । एग्रोमार्टको निर्माण कार्य ७० प्रतिशत बढि पुरा भै सकेको बताउँदै उहाँले भदौको पहिलो हप्तामा उद्घाटन गर्ने तयारी गरेको जानकारी दिनुभयो । आफूहरुले सबैको मन मुटुमा बस्न सक्ने बजार निर्माण गरेको बताउँदै उहाँले आम उपभोक्ताको चाहानाअनुसार बजार सञ्चालन गर्ने बताउनुभयो । नारायणगढका पनि व्यवसायीहरु यहाँ आउन चाहेको बताउँदै उहाँले आफ्नै घर आगनमा बसेर व्यवसाय गर्ने सुन्दर अवसर गैंडाकोट वासीलाई भएको तर्क गर्नुभयो । बजारको फोहोर व्यवस्थापनका लागी नगरपालिकासँग सहकार्य गर्ने र आवश्यक शुल्क तिर्ने उहाँ बताउनु हुन्छ ।

विगत धेरै वर्ष फलफुल तरकारी व्यवसायीको नेत्रित्व गरेको अनुभव र भरतपुर महानगर तरकारी बजार निर्माण गरेको अनुभवले पनि गैंडाकोटमा बजार निर्माणमा आफूलाई प्रेरण मिलेको र त्यो अनुभवले काममा धेरै सहज भएको उहाँको भनाइ छ । घिमिरेले चितवनको क्षेत्रपुरमा रहेको महानगर तरकारी बजार निर्माण समितिको संयोजक रहेर काम गरिसक्नु भएको छ ।
 

प्रतिक्रिया दिनुहोस