जनकपुर उपमहानगरका छ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंगलबार, १४ साउन २०७६, १८ : ०३
जनकपुर उपमहानगरका छ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुर । जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद सुवेदीसहित ६ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उपमहानगरपालिकाका लागि विद्युतीय सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा सुवेदीसहित उपसचिव मदन घिमिरे ,शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी र नायब सुव्बा अब्दुल जब्बारविरुद्ध जनही ११ लाख ३५ हजार विगो कायम गरी मुद्दा दायर गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीसहितले सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रसँग मिलेमतो गरी अनुचित प्रभावमा सामान खरिद गरेर सरकारलाई ११ लाख ३५ हजार ४ सय ११ रुपैयाँ ५७ पैसा हानीनोक्सानी पुर्‍याएको जिकिर आरोपपत्रमा गरिएको छ ।

मिश्रविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा९४० बमोजिमको कसूर गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस