प्रतिनिधिसभामा काँग्रेस र राजपाको नाराबाजी, बैठक स्थगित

सफल खबर संवाददाता

सोमबार, १३ साउन २०७६, १५ : ३१
प्रतिनिधिसभामा काँग्रेस र राजपाको नाराबाजी, बैठक स्थगित

काठमाडौं । सर्लाही हत्याकाण्डबारे छानबीन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरुले नाराबाजी गर्दै प्रतिनिधिसभाको बैठक अवरोध गरेपछि बैठक साउन १५ गते दिउँसो ११ बजे बस्ने गरी स्थगित भएको छ । 

विपक्षी दलका सांसदले करिब ४० मिनेट नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो । प्रमुख प्रतिपक्ष काङ्ग्रेस र राजपाका सांसदले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्ने बताउनुभएपछि काङ्ग्रेस र राजपाका सांसद सभामुखको आसन अगाडिको रोष्टममा पुगेर नाराबाजी गर्दै विरोध जनाएका थिए । 

काङ्ग्रेस र राजपाका सांसदले गत असारमा प्रहरीले हत्या गरेका विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल तथा बालुवा निकालेको खाल्डोमा परी सर्लाही ईश्वरपुरका १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रेका स्थानीयवासी र प्रहरीको झडपका क्रममा केवल महतोको मृत्यु भएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेका हुन्।

पौडेल नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाहीका इन्चार्ज थिए । यस्तै अवैध बालुवा निकाल्ने क्रममा खनिएको खाल्डोमा परेर १२ वर्षीय बालक रायको मृत्यु भएको थियो । बालक मृत्युको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका केवल महतोको प्रहरीसँगको झडपमा निधन भएको थियो । 

सभामुखले संसदीय सर्वोच्चता कायम गर्नका लागि संसद् चलाउने वातावरण बनाउन र छलफल गर्न दिन आग्रह गर्नुभयो । 

उहाँले सांसदहरुले उठाउनुभएको विषयमा सरकार र सदनको ध्यानाकर्षण भएको भन्दै संसद् चल्न दिन र आ–आफ्नो आसनमा बस्न पटकपटक आग्रह गर्नुभयो ।

सभामुख महराले प्रतिनिधिसभाको बैठक नचल्दा देश र जनताको विविध विषय छलफलमा जान नपाएको भन्दै विरोध गरेर समय खेर नफाल्न आग्रह गर्नुभयो ।

सभामुखको आग्रहलाई अस्वीकार गर्दै काङ्ग्रेस र राजपाका सांसदले लगातार नाराबाजी गर्दै संसदीय सर्वोच्चता कायम गर्न माग गरेका थिए । 

लगातारको नाराबाजीपछि सभामुखले प्रतिनिधिसभाको बैठक स्थगित गर्नुभयो । बैठक १ बजे शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस