चितवन राष्ट्रिय निकुञ्जमा भित्रिए अहिलेसम्मकै धेरै पर्यटक

उर्गेन तामाङ

सोमबार, १३ साउन २०७६, १४ : १६
चितवन राष्ट्रिय निकुञ्जमा भित्रिए अहिलेसम्मकै धेरै पर्यटक

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७५/७६ मा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटकले भ्रमण गरेका छन् । आव २०७५/७६ मा निकुञ्जमा १ लाख ८७ हजार १ सय ९ जना पर्यटकले भ्रमण गरेको निकुञ्जले जनाएको छ । 
पर्यटकको संख्या बढेसँगै राजस्वमा पनि वृद्धि भएको छ । गएको आर्थिक वर्षमा २९ करोड १० लाख ९७ हजार ८ सय २३ रुपैँया राजस्व संकलन भएको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए । सबैभन्दा कम राजस्व आर्थिक वर्ष २०७२/७३ मा संकलन भएको थियो ।
सबैभन्दा धेरै बाह्य पर्यटकले निकुञ्जको भ्रमण गरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । कुल १ लाख ४२ हजार ४८६ जना बाह्य पर्यटकले निकुञ्जको भ्रमण गरेकोमा आन्तरिक पर्यटकको संख्या करिब एकतिहाई मात्रै रहेको पाइएको छ । आव २०७५/७६ मा ४४ हजार ६ सय २३ जना आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । भूकम्पका कारण आर्थिक वर्ष २०७२/७३ मा सबैभन्दा कम ८७ हजार ३९१ पर्यटकले निकुञ्जको भ्रमण गरे ।
कात्तिक महिनामा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । विश्वमै लोप उन्मुख अवस्थाका वन्यजन्तु चितवन राष्ट्रिय निकुञजमा संरक्षित रहेकाले पनि पर्यटकको आकर्षण रहेको छ । यस निकुञ्जमा पाटेबाघ, एकसिंगे गैडा, हात्ती लगायतका वन्यजन्तु साथै चराचुरुङ्गी पाइन्छ । 
आर्थिक वर्ष २०७०/७१ मा १ लाख ७३ हजार ४ सय २५ पर्यटकले निकुञ्जको भ्रमण गर्दा २४ करोड ६८ लाख ७२ हजार २ सय १ रुपैँया राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७१/७२ मा १ लाख ७८ हजार ४ सय ५७ पर्यटकबाट २४ करोड ६२ लाख ३७ हजार ६ सय ५८, आर्थिक वर्ष २०७२/७३ मा ८७ हजार ३ सय ९१ पर्यटकबाट ११ करोड ६८ लाख ५३ हजार ७ सय १०, आव २०७३/७४ मा १ लाख ३९ हजार १ सय २५ पर्यटकबाट २२ करोड ७१ लाख ६३ हजार ४ सय १ रुपैँया राजस्व संकलन भएको थियो । 
आर्थिक वर्ष २०७४/७५ मा १ लाख ५२ हजार ६ सय ७१ पर्यटकबाट २४ करोड ८१ लाख ९९ हजार ९ सय ९८ र आव २०७५/७६ मा १ लाख ८७ हजार १ सय ९ पर्यटकबाट २९ करोड १० लाख ९७ हजार ८ सय २३ रुपैयाँ राजस्व संकलन भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस