कागजपत्रबिना चल्ने म्याजीक र अटोप्रति ट्राफिक प्रहरी आक्रामक

उर्गेन तामाङ

मंगलबार, ०७ साउन २०७६, १८ : ३४
कागजपत्रबिना चल्ने म्याजीक र अटोप्रति ट्राफिक प्रहरी आक्रामक

चितवन । कागजपत्रबिना सञ्चालन हुने साना सार्वजनिक सवारीप्रति चितवन ट्राफिक प्रहरी आक्रमक बनेको छ । जिल्लामा गुड्ने अधिकांश तीन पांग्रे अटो र म्याजीक कागजपत्र बिना सञ्चालन भइरहेको पाइएपछि ट्राफिक प्रहरी आक्रमक बनेको हो । 

कारवाहीका लागि यातायातलाई सिफारिस
कही दिन यता लाइसेन्स, विल्बुक लगायत आवश्यक कागजपत्रबिना सञ्चालन भइरहेका ४९ वटा अटो कारवाहीमा परेका छन् । ति सबै अटो चालकले लाइसेन्सबिना सवारी चलाउँदै आएका थिए । 

यसअघि ट्राफिकले १५ सयसम्म जरिवाना गराएपछि नसुध्रिएपछि यसपटक भने यातायात सेवा कार्यालयमा कारवाहीका लागि सिफारिस गरिएको छ । उनीहरुलाई यातायात सेवा कार्यालयले लाइसेन्स लगायत आवश्यक कागजात नभएपछि ३ हजार १० रुपैयाँको दरले जरिवाना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक चन्द्र कुमार गिरीले बताए । 

४१ वटा अटोबाट १ लाख २३ हजार ४१० रुपैयाँ राजस्वा उठेको छ । बाँकी ८ वटालाई पनि कागजपत्र नल्याए कारवाहीका लागि सिफारीस गर्ने जनाइएको छ । 
उनीहरु पटक पटक कारवाहीमा परेपनि चिट काट्दै छुट्ने तर कागजपत्र बनाउनेतर्फ ध्यान नदिएकाले यसपटक कडा कारवाहीमा उत्रिएको ट्राफिक कार्यलयले जनाएको छ । केही दिनअघिबाट चलेको यो अभियान निरन्तर चलिरहने प्रमुख गिरीले बताए । 

यात्रु दुर्घटनाको जोखिममा
यात्रुको सबैभन्दा सजिलो सार्वजनिक सवारीका रुपमा रहेको तीन पांग्रे अटो लाइसेन्सबिनाको चालकले चलाउँदा यात्रु दुर्घटनाको उच्च जोखिममा रहेको पाइएको छ । यात्रुको सुरक्षामाथि नै गम्भिर प्रश्न चिन्ह उठेकाले अब निमिट्यान्य गर्ने गरी लागेको प्रमुख गिरीले बताए । 

जिल्लामा २ हजार हजारको हाराहारीमा अटो सञ्चालन भइरहेको ट्राफिक प्रहरीको भनाइ छ । उता अटो व्यवसायी संघले भने १५ सयको हाराहारीमा मात्रै अटो रहेको बताएको छ । यसैबीच अधिकांश म्याजिक पनि कागजपत्रबिना सञ्चालन हुने गरेको पाइएको छ । उनिहरुलाई अन द स्पट कारवाही गरिनुका साथै सुध्रिनका लागि समय दिइएको ट्राफिक कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस