ओली सरकारका तीन मन्त्री नेकपाको जिल्ला इन्चार्ज, सहइन्चार्ज

असन्तुष्टि पनि चुलिँदो, केहीले जिम्मेवारी लिनै अश्वीकार

सफल खबर संवाददाता

सोमबार, ०६ साउन २०७६, ०८ : २७
ओली सरकारका तीन मन्त्री नेकपाको जिल्ला इन्चार्ज, सहइन्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका दुई मन्त्री र एक राज्यमन्त्रीले पनि पार्टी जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

दुई मन्त्रीले जिल्ला इन्चार्ज र राज्यमन्त्रीले जिल्ल सहइन्चार्जको जिम्मेवारी पाएका हुन् । सुचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र भूमिसुधार तथा व्यवस्था मन्त्री पद्मा अर्याल क्रमशः क्राभ्रे र स्याङ्जाको जिल्ला इन्चार्ज बनेका छन् ।

त्यसैगरी कृषि राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीको सहइन्चार्ज बनेकी छिन् ।

संघीय सरकारमा मात्र होइन, प्रदेशका मुख्य मन्त्री देखि मन्त्रीहरुले पनि इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी पाएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट जिल्ला इन्चार्ज भएका छन्, उनको जिल्लामा सहइन्चार्ज तोकिएको छैन ।

यसैगरी प्रदेश १ का अर्थमन्त्री इन्द्र आङवो पाँचथरका जिल्ला इन्चार्ज भएका छन् भने अर्का मन्त्री जगदीश कुसियैत सुनसरी  जिल्लाको सहइन्चार्ज भएका छन् ।

प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल धादिङ जिल्ला इन्चार्ज भएका छन् भने अर्थमन्त्री कैलाश ढुङ्गेल रामेछाप जिल्लाको सहइन्चार्ज भएका छन् ।

सिन्धुपाल्चोकमा दुईजना प्रदेश मन्त्री सहइन्चार्ज भएका छन् । पर्यटन मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल दुवै जना जिल्लाको सहइन्चार्ज भएका हुन् ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान तनहुँ जिल्ला इन्चार्ज भएका छन् भने भौतिक पूर्वाधारमन्त्री रामशरण वस्नेत मनाङ जिल्ला इन्चार्ज भएका छन् ।

प्रदेश ५ का वनमन्त्री लीला गिरी र भौतिक पूर्वाधारमन्त्री बैजनाथ  चौधरी क्रमशः रुपेन्देही र नवलपरासी जिल्ला इन्चार्ज भएका छन् ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी जुम्लाको सहइन्चार्ज भएका छन् । त्यस्तै, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाश शाह बाजुरा जिल्ला इन्चार्ज भएका छन् ।

असन्तुष्टि बल्झिदो
१४ महिनापछि बल्लतल्ल पाएको जिम्मेवारी प्रति असन्त्ुष्टिको स्वर समेत सुनिन थालेको छ । डडेलधुरा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका खगराज भटटले जिम्मेवारी अश्वीकार गर्ने घोषणा गरेका छन् । उनले प्रदेश अध्यक्ष र इन्चार्जलाई आफु पार्टीले दिएको डडलेधुरा इन्चार्जको जिम्मेवारी नलिने जानकारी गराएका छन् । जिम्मेवारी नलिदा पार्टी केन्द्रीय सदस्य छोडन परे छोडने तर जुनियरको अन्डरमा रहने गरी जिल्लाको इन्चार्ज नलिने भटटले जानकारी प्रदेश इन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापालाई गराएका छन् ।

पूर्वी रुकुमकी सांसद समेत रहेकी पूर्वमन्त्री कमला रोकाले पनि जिम्मेवारी अश्वीकार गरेकी छिन् । उनले यो विषयमा पार्टी अध्यक्षलाई जानकारी गराएकी छिन् । उनी रुकुम पूर्वमा सहइन्चार्ज तोकिएकी थिइन । त्यहा पूर्व एमाले तर्फका खेममान खड्काले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका थिए ।

त्यस्तै अन्जना विसंखेले पनि जिल्ला सहइन्चार्जको जिम्मेवारीमा असन्तुष्टि जनाएकी छिन् । उनी अन्य ८ नेताहरु सहित काठमाडौंको जम्वो सहइन्चार्जमा परेकी थिइन । काठमाडौं इन्चार्जमा एमाले तर्फका सावित्रा भुषालले जिम्मेवारी पाएकी थिइन भने उनी सहित कुमार पौडेल, दिलिप महर्जन, नारायण सिलवाल, पार्वती थापा, वसन्त मानन्धर, मुक्ति प्रधान, रामेश्वर फूयाँल र सुरेन्द्र मानन्धरले काठमाडौंको जिल्ला सहइन्चार्जको जिम्मेवारी पाएका थिए ।

प्रतिक्रिया दिनुहोस