यसरी मिल्यो वाम गठबन्धनको भागबन्डा

पत्रपत्रिकाबाट

सोमबार, १५ माघ २०७४, ०७ : १२
यसरी मिल्यो वाम गठबन्धनको भागबन्डा

काठमाडौं  । वाम कार्यदलले प्रदेश सरकार नेतृत्वको टुंगो लगाएको छ । कार्यदलले प्रदेश १, ३, ४ र ५ मा एमाले तथा प्रदेश ६ र ७ मा माओवादी नेतृत्वमा सरकार गठन हुने गरी टुंगो लगाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

सहमतिअनुसार एमालेले प्रदेश १, ३, ६ र ७ मा सभामुख पाउनेछ भने माओवादीलाई उपसभामुख दिइने भएको छ । प्रदेश ४ र ५ मा माओवादीले सभामुख लिनेछ भने एमालेको भागमा उपसभामुख परेको छ ।

कार्यदलको आइतबार दिउँसो बसेको बैठकले एमाले र माओवादीले मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भागबन्डा टुंग्याउन नसकेपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमक्ष निर्णयका लागि पेस गरेको थियो ।

दुई नेताबीच आइतबार पाँच घण्टा लामो गोप्य वार्ता भएपछि पद भागबन्डामा सहमति भएको हो । दुई नेता गोप्य वार्तामा बस्नुअघि कार्यदल संयोजक सुवास नेम्बाङ र रामबहादुर थापा बादलसँग ब्रिफिङ सुनेका

थिए । अध्यक्षद्वयबीच भएको सहमतिअनुसार नै कार्यदलले मुख्यमन्त्रीलगायत पदमा भागबन्डा गरेको नेम्बाङले जानकारी दिए ।

उनले भने, ‘कार्यदलले दुवै अध्यक्षलाई ब्रिफिङ गरेपछि मात्रै हामीले प्रदेशका मुख्यमन्त्री र सभामुख उपसभामुखलगायत पदमा कहाँ-कहाँ कसले नेतृत्व गर्ने निर्णय गरेका हौं ।’

कार्यदलले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् सदस्य संख्याको भागबन्डा पनि आइतबार नै टुंग्याएको छ । प्रदेशका मन्त्रिपरिषद्मा एमाले ७० र माओवादी केन्द्र ३० प्रतिशत रहने गरी बाँडफाँट गरिएको छ ।

मन्त्रीहरूका कार्यविभाजन र प्रदेश संसदीय समितिका नेतृत्वको बाँडफाँट सम्बन्धित प्रदेशका मुख्यमन्त्री र दुवै पार्टीका प्रदेशसभा दलका नेताको सहमतिमा गरिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को संख्या भने प्रदेशसभाको संख्याको अनुपातअनुसार ७ देखि ११ सम्म रहने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस