विप्लव नेतृत्वको नेकपाले लियो धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटको जिम्मेवारी

सफल खबर संवाददाता

शुक्रबार, ०३ साउन २०७६, १५ : ३९
विप्लव नेतृत्वको नेकपाले लियो धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटको जिम्मेवारी

काठमाडौं । एक जनाको मृत्यु र चार जना घाइते हुने गरी कैलालीको धनगढीस्थित निलम होटल परिसरमा बिहीबार साँझ भएको बम विस्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ ।
सेती महाकाली ब्युरो इन्चार्ज निर्माणले विज्ञप्तिमार्फत बम विस्फोटको जिम्मा लिएका हुन् । विप्लव समूहका सेती महाकाली ब्यूरोका ईञ्चार्ज निर्माणले शुक्रबार विज्ञप्ति निकालेर बम बिस्फोटमा पार्टीका सदस्य रामबहादुर सिंह राजेशको मृत्यु भएको उल्लेख गरेका छन् ।
बम विस्फोटमा परी सिंहको ढाड र खुट्टामा गहिरो चोट लागेको थियो। मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा सिंहको बिहीबार राति मृत्यु भएको थियो । विस्फोटमा परी घाइते भएका होटल सञ्चालक केशवराज पाण्डे, लक्ष्मण सेरेला, जितेन्द्र यादव, मोविन खानको भने उपचार भइरहेको छ ।
विप्लव समुहका सेती महाकाली इन्चार्ज निर्माणले शुक्रबार विज्ञप्ति जारी गर्दै आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ विष्फोट हुँदा ज्यान गएको जनाएका छन् । ‘धनगढी उपमहानगरपालिका सहिदगेट नजिकै पार्टी कामको शिलशिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ विष्फोट हुँदा शहादत प्राप्त गर्नुभएका रामबहादुर सिंह ‘राजेश’ लाई एकीकृत जनक्रान्तिका महान् सहिद घोषणा गर्दै उहाँप्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्छौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस