जेलमा राखिएका मान्छे छोडेर विप्लवसँग वार्ता हुँदैन : सरकार

सफल खबर संवाददाता

विहीबार, ०२ साउन २०७६, १९ : २०
जेलमा राखिएका मान्छे छोडेर विप्लवसँग वार्ता हुँदैन : सरकार

काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चितता भएपछि मात्र वार्ता हुने बताएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न विहिबार आयोजित नियमित पत्रकार सम्मेलन सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहले शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चितता जनाएपछि मात्र वार्ता हुने बताएका हुन् । 

मन्त्री बास्कोटाले विप्लव समूहलाई वार्तामा आउन भनिरहेको बताउँदै जेलमा राखिएका मान्छे छोड्दै उनीहरुको शक्ति सञ्चयका लागि वार्ता नहुने बताए । मन्त्री बाँस्कोटाले अनुचित, गैरजिम्मेवार, असंवैधानिक मागमा वार्ता नहुने पनि स्पष्ट पारे ।

उनले भने, ‘वार्ताका लागि मान्छे छोड्नुपर्ने भन्ने हुँदैन । ५२ सालदेखि ६२ सालसम्म के भयो ?वार्ता गर्ने, छोड्ने फेरि शक्ति सञ्चय गर्ने ? फेरि त्यसकै दुस्चक्रमा फर्किने ? त्यसमा सरकार सचेत छ ।’ सरकारले समातेको मान्छे बन्दुक बोक्नका लागि छाडेर वार्ता गर्ने कुरा नहुने उनको भनाई छ । उनले भने, ‘वार्ता चाहिँ गर्ने, यसको निष्कर्षमा नपुग्ने र फेरि पहिलेकै अवस्थामा जाने भन्ने हुँदैन । कमजोर धरातलमा बसेर वार्ता हुँदैन ।’ 

हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए वार्ता गर्ने मन्त्री बाँस्कोटाले प्रष्ट पारे । ‘सिके राउतको झैं शान्तिपूर्ण राजनीतिमा पार्टी दर्ता गरेर प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ आउनुहुन्छ भने जुनसुकै बेला कुरा गर्न तयार छौं’ उनले भने ।

साथै उनले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका ८ निर्णय हरु पनि सार्वजनिक गरे ।


 

प्रतिक्रिया दिनुहोस