फोहोरको व्यवस्थापन अहिलेको मुख्य चुनौती : मुख्यमन्त्री पौडेल

उर्गेन तामाङ

बुधबार, ०१ साउन २०७६, १२ : २४
फोहोरको व्यवस्थापन अहिलेको मुख्य चुनौती : मुख्यमन्त्री पौडेल

चितवन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक विकाससँगै वातावरणीय लगायत अन्य विकासलाई पनि साथै लैजानु पर्ने बताएका छन् । 
चितवनको भरतपुरमा सरसफाई तथा हरियाली प्रवद्र्धन कार्यक्रमको बुधबार शुभारम्भ गर्दै पौडेलले कुनै एक क्षेत्रको मात्र नभई सिंगो प्रदेशको चुनौतीको रुपमा रहेको बताएका हुन् । उनले भौतिक विकासमात्रै विकास देख्ने मानसिकताले दीर्घकालीन समस्यामा परिने भएकाले वातावरण र अन्य सामाजिक विकासलाई सँगै अघि बढाउनु पर्ने बताए । उनले फोहोरको सही व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको बताएका छन् । 
फोहोरको मुख्य श्रोत घर भएकाले घरेलु फोहोर घरमै व्यवस्थापन गर्नुपर्नेमा मुख्यमन्त्री पौडेलले जोड दिए । घरघरमै, टोलटोलमै फोहोर व्यवस्थापन हुन सके यो थोरै खर्चमा दीर्घकालीन पनि हुने उनले बताए । उनले भने ‘सरकारले घरघरमा गएर फोहोर उठाउनु पर्छ भन्ने मान्यताभन्दा माथि उठ्ने हो भने हाम्रो गाउँ, सहर थोरै खर्चमा सरसफाईयुक्त हुनेछ ।’
उनले काठमाडौँ सिसडोलको प्रसंग उल्लेख गर्दै फोहोर व्यवस्थापनमा दीर्घकालीन सोचका साथ सरकारले पनि काम गरिरहेकाले स्थानीय स्तरबाट आमनागरिकले पनि सक्दो योगदान दिनुपर्ने बताए । उनले भौतिक विकाससँगै वातावरणीय सौन्दर्यलाई पनि जोगाउँदै अघि बढ्नु पर्नेमा जोड दिए । 
‘स्थिर सरकार भनेकै विकास हो, समृद्धिका लागि सवै एक भएर अघि बढ्नु पर्छ’ पौडेलले भने । अब गरिने विकास दीर्घकालीन हुनुपर्ने बताउँदै मुख्यमन्त्री पौडेलले सडक बनाउँदा ढल, अपांगमैत्री, फुटपाथ र विरुवा रोप्ने ठाँउसहितको एकीकृत विकासको मोडेलमा हुनुपर्ने बताए । ३ तहको सरकारले सहकार्य गरिरहेकाले अबको समयमा प्रचारमुखी नभई परिणाममुखी काम हुने पौडेलको दाबी छ । 

प्रदेश सांसद विजय सुवेदीले वातावरणको संरक्षणमा ध्यान नदिए हाम्रो भविष्य अन्धकारमय हुने उल्लेख गरेका छन् । तीब्र भौतिकसँगै आर्थिक विकास हँुदै जाँदा वातावरणीय प्रदुषण पनि बढ्ने भएकाले यसको सही व्यवस्थापन अहिलेको पुस्ताको चुनौतीको विषय भएको उनले बताए । 
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरले भौतिक विकाससँगै वातावरण र सामाजिक विकासलाई पनि सँगै अघि बढाएको बताइन् । उनले महानगरले कुल बजेटको १० प्रतिशत वातावरण संरक्षणमा छ्ट्याएर काम गरिरहेको जानकारी दिइन् । 

 

प्रतिक्रिया दिनुहोस