आज पार्टी एकताका बाँकी सबै काम टुंगो लाग्छ : प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, ३१ असार २०७६, १८ : ०८
आज पार्टी एकताका बाँकी सबै काम टुंगो लाग्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले आज पार्टी एकताका बाँकी सबै काम टुंगो लाग्ने बताएका छन् ।

मंगलबार ललितपुर जिल्ला कमिटीको पूर्णबैठकलाई सम्बोधन गर्दै असार प्रचण्डले असार मसान्तसम्म पार्टी एकताका सबै काम सक्ने घोषणा पुरा गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल भइरहेको बताए ।

पार्टी एकता गर्ने घोषणासँगै प्रतिक्रियावादीहरुको चलखेल सुरु भएको भन्दै उनले भने, ‘विभिन्न खालका प्रलोभन र धम्की, घेराबन्दी नभएका होइनन् । त्यो सबैलाई पार गरेर प्रतिवद्धता अनुसार नै हामीले एकता घोषणा गर्‍यौं ।’

उनले दुई अध्यक्षबीच पार्टीको केन्द्रीय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे सहमति भइसकेको पनि जानकारी दिए ।

उनले पार्टी एकताको सबै कामले पूर्णता पाउने वित्तिकै पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाएर जनता र पार्टी संगठनहरुलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा पनि गरे ।

प्रतिक्रिया दिनुहोस