साडी किन्न वडाको दुई लाख वजेट, वडावासीको विरोध

प्रकाश सिग्देल

सोमबार, ३० असार २०७६, १८ : ३६
साडी किन्न वडाको दुई लाख वजेट, वडावासीको विरोध

नवलपुर । गैंडाकोट वडा नम्बर ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले बजेटको दुरुपयोग गरेको भन्दै वडावासीले गैंडाकोट नगरपालिकामा ध्यानाकर्षण गराएका छन् । सोमबार नगरपालिकामा आएका स्थानीय वडावासीले नगर प्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णुकुमारी कंडेल सापकोटासँग वडा अध्यक्ष तिवारीले मनोमानी गरी बजेट दुरुपयोग गरेकोे भन्दै आवश्यक छानविन गर्न माग गरेका हुन् । 

गैंडाकोट ३ हर्दिका स्थानीय कृष्णप्रसाद शर्माले वडा अध्यक्षले बजेटको नाममा विभिन्न अनावश्क कार्यहरुमा रकम  खर्च गरेको र आधारभूत आवश्कताका क्षेत्रहरुलाई ध्यानै नदिई बजेट सकाउने काम गरेको बताउनुभयो । वडाले मोटर बाटोमा वजेट विनियोजन नगरी, वडा अध्यक्ष छात्रवृति कार्यक्रम सारी वितरण, प्रचार प्रसारका नाममा लाखौं वजेट विनियोजन गरी अत्यावश्यक छेत्रमा वजेट नै नछुट्याएको बताउनुभयो । वडा भेलामा पनि स्यानीयलाई खबरै नगरी आफ्नै ढंगबाट गर्ने गरेको उहाँको गुनासो  छ । हर्दी केलादीमा विद्युत विस्तारका लागि १ लाख वजेट अपुग हुँदा वडाले नदिएको तर आमा समूहलाई साडी खरिदमा दुई लाख, प्रचार प्रसारका नाममा १ लाख ५० हजार वजेट विनियोजन गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

त्यस्तै स्थानीय लेखनाथ सुवेदीले गैंडाकोट वडा नम्बर ३ भौगोलिक क्षेत्रले पनि ठूलो रहेको तर अझै पनि वत्ति, बाटो, स्वास्थ्यचौकी, शिक्षा, खानेपानी  एम्वुलेन्स जस्ता आधारभुत आवश्यकताबाट  गाउँवासी वञ्चित रहेको अवस्थामा आधारभुत आवश्यकतालाई ध्यान दिनुको साटो उपलब्धि नहुने काममा वजेट सकाउने काम गरेको बताउनुभयो । उहाँले  नगरले वजेट छुट्याउँदा अन्य वडालाई भन्दा वडा नम्वर ३ लाई बढी वजेट छुट्याउन जरुरी रहेको बताउनुभयो । 

स्थानीय क्षेत्रको आवश्यकतालाई वर्गीकरण गरी समानुपातिक तवरले वजेट विनियोजन गरेर वडाको विकास गर्न स्थानीयले माग गरेका छन् । नगरपालिकाले जम्मा ८० लाख वजेट विनियोजन गरेको भन्दै स्थानीयले वडाको विकासलाई वजेट अभाव भएको बताएका थिए । सो अवसरमा नगर प्रमुख छत्रराज पौडेलले वडा अध्यक्ष तिवारीसँग बुझेर आवश्यक छानविन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

वडा अध्यक्ष तिवारीले भने राजनीतिक रुपमा प्रतिसोध साध्न खोजिएको बताउनुभयो । आफूलाई कसैले पनि औपचारिक जानकारी नगराएको र आफू पोखरा रहेको बताउँदै साडी किन्नका लागि वजेट विनियोजन गरेको नभै आमा समूहरुलाई प्रोत्साहनका लागि वजेट छुट्याएको उहाँको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस