निजी विद्यालयको कार्यक्रममा गैँडाकोटका वडाध्यक्ष सभापति, मेयर प्रमुख अतिथि

प्रकाश सिग्देल

आइतबार, २९ असार २०७६, १६ : ०१
निजी विद्यालयको कार्यक्रममा गैँडाकोटका वडाध्यक्ष सभापति, मेयर प्रमुख अतिथि

नवलपुर । जनप्रतिनिधिहरुले आफ्नो अधिकार र कर्तब्य के हो भनेर नबुझेपछि उनीहरु दैनिकजसो विवादमा आउन थालेका छन् । कहिले के  कारणले विवाद र चर्चामा छन् त केहिले के कारणले । जनप्रतिनिधिहरु विवादमा आई नै रहन्छन् । 
गैंडाकोट नगरपालिका वडा नम्वर दुईका अध्यक्ष धु्रवराम पौडेल पनि आफ्नो भूमिका र जिम्मेवारी बिर्सिंदा यस्तै समस्यामा पर्नु भएको छ । जनप्रतिनिधि भएपछि जे गरे पनि छुट हुन्छ भन्ने ठानेर हो या के गर्न हुन्छ, हुन्न भन्ने नै नबुझेर हो, जनप्रतिनिधिहरुबाट यस्ता गल्ती भई नै रहेका छन् । शनिबार बालविकास स्कूलद्वारा कक्षा ११ का विद्यार्थीहरुको लागि आयोजित कार्यक्रममा गैडाकोट २ का वडाध्यक्ष ध्रुवराम पौडेलले कार्यक्रमको अध्यक्षता गरेपछि उहाँको आलोचना सुरु हुन थालेको छ । 
नयाँ बिद्यार्थी भर्ना हुनुपूर्व गरिने सामान्य अभिमुखीकरण कार्यक्रम, त्यसमा पनि निजी बिद्यालयको कार्यक्रममा वडा अध्यक्ष नै सभाध्यक्ष बनेर बस्नु त्यो जायज नभएको तर्क गर्न थालिएको छ । कुनै पनि कार्यक्रमको अध्यक्षता गर्ने व्यक्ति आयोजक संस्थाकै हुन्छन् । त्यसमाथि जनप्रतिनिधिले सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नु पर्नेमा संस्थागत (निजी) विद्यालयप्रति मोह देखाउनु उचित हुँदैन ।
दुई नम्वर वडाको बिद्यालय नै भएको र आफू बिद्यालयको अभिभावक समेत भएकाले सभापतिमा बस्दा फरक नपर्ने भनिएकाले आफू बसेको वडा अध्यक्ष धु्रवराम पौडेलले बताउनु भयो । आफू पदेन ब्यवस्थापन समितिकै सदस्य भएकाले पनि केही फरक नपर्ने कुरा आएकाले बसेको उहाँ बताउनु हुन्छ । 
गैडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले नराखेको भए राम्रो हुने बताउँदै सभापति बस्न नमिल्ने प्रतिक्रिया दिनु भयो । राखिहालेपछि भैहाल्यो भनेर छाडेको बताउँदै उहाँले आफूले पनि यो बिषयमा वडा अध्यक्षलाई सचेत गराएको जानकारी दिनु भयो । कार्यक्रममा नगर प्रमुख पौडेल प्रमख अतिथिका रुपमा रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस