मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

सफल खबर संवाददाता

आइतबार, २९ असार २०७६, १३ : १०
मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

काठमाडौँ । मलेसियाविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल भएको छ । आइतबार भएको खेलमा मलेसियालाई ६ रनले हराउँदै नेपालले विजयी भएको हो । टी-२० सिरिजअन्तर्गत मलेसियाविरुद्ध शनिबार भएको पहिलो खेलमा पनि नेपाल ७ विकेटले विजयी भएको थियो । यससँगै नपालले यो  सिरिज जितेको छ ।

किनरारा ओभलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । १ सय ७४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मलेसियाले शुरुवात भने राम्रो गरेको थियो । दुवै ओपनरले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । सायेद अजिजले ५० रन तथा विरन्दीप सिंहले २३ रनको योगदान दिए । त्यस्तै अमिनुद्दिन राम्लीले २४ तथा मुहमद स्याहादतले नटआउट रहँदै २१ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकेनन् ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने करण केसी, अभिनाश बोहोरा र पारस खड्काले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर व्याटिङ थालेको नेपालले विनोद भण्डारीको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । नेपालको सुरुवात औसत रहृयो । ओपनरद्वय पारस खड्का र पवन सर्राफले ३४ रनको साझेदारी गरे । पवन मात्र १० रनमा आउट भए । त्यसपछि नेपालले ज्ञानेन्द्र मल्ल र पारसको विकेट गुमायो । मल्ल ७ र खड्का २३ रनमा आउट भए ।
रोहितकुमार पौडेल र शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे । रोहित १९ र शरद ४० रनमा आउट भए । छैटौं नम्बरमा आएका विनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५१ रन बनाए । करण केसीले १६ रन जोडे ।

मलेसियाका लागि फ्रिती सामले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । सैद अजिज र सर्विन मुनियनले समान एक विकेट लिए ।

सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको एशिया फाइनल आगामी साउन ६ देखि १२ गतेसम्म सिङ्गापुरमा आयोजना हुदैछ ।  
प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेशिया, कतार र कुवेत भिड्ने छन् । नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ । यस्तै साउन ८ मा मलेशियासँग, ११ गते कुवेत तथा १२ गते सिङ्गापुरसँग खेल्नेछ ।     
उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस