गैँडाकोटको ढाट हटाउन जनप्रतिनिधि नै उत्रिए आन्दोलनमा

प्रकाश सिग्देल

शुक्रबार, २७ असार २०७६, १६ : ४८
गैँडाकोटको ढाट हटाउन जनप्रतिनिधि नै उत्रिए आन्दोलनमा

नवलपरासी । गैँडाकोट–७ मा रहेको ढाटको विषयलाई लिएर गैँडाकोटका जनप्रतिनिधिहरु नै असन्तुष्ट बनेका छन् । आफ्नै नगरपालिका कार्यालय जाँदा आउँदा सवारी कर तिर्नु पर्ने भन्दै जनप्रतिनिधि नै आन्दोलनमा उत्रिएका हुन् । 

गैँडाकोट वडा नम्वर ६ देखि १८ सम्मका नगरबासीहरुले नगरपालिकामा काम सकेर घर फर्कदा सडक कर तिर्नु पर्ने बाध्यता छ भने दाहसंस्कारका लागि गैँडाकोट नारायणी नदी किनार आएकाहरुले पनि फर्कदा कर तिर्नु पर्ने बाध्यता छ ।  
विद्यालय पढाउन जाने शिक्षक तथा कलेज पढ्न जाने विद्यार्थीहरुले समेत ढाटमा कर तिर्नु पर्ने बाध्यतामा छन् । नारायणी निमाविका शिक्षक गोविन्द रिमालले आफू ढाट नजिकैको विद्यालयमा हरेक दिन पढाउन जानु पर्ने पढाउन जाँदा पनि कर तिर्नु पर्ने बाध्यता रहेको बताउनु भयो । 

बीच गाउँमा ढाट राखेर स्थानीय बासिन्दालाई ढाटले आतंक मच्चाएको भन्दै उहाँले आक्रोश पोख्नु भएको थियो । वडा नम्वर ११ का वडा अध्यक्ष गोविन्द सुवेदीले गैँडाकोटको बीच बस्तीमा सडक ढाट राखेर बजारमा तरकारी किनेर फर्कदा, खेतमा घाँस काटेर फर्कदा पनि किसानले कर तिर्नु पर्ने बाध्यता भएको बताउनुभयो । उहाँले आफू पनि हरेक दिन नगरपालिका पुगेर फर्किदा कर तिर्नु पर्ने बाध्यता भएको बताउनु भयो । 

गैँडाकोटका अधिकांश मानिसहरुको दैनिक बजार र रोजगारका लागि नारायणगढ जाने गरेका हुन्छन् । दैनिक सवारी कर भनेर मोटरसाइकलको १० र कारको ६० रुपैयाँ तिर्नु पर्ने बाध्यतामा गँैडाकोटवासी छन् । हर्कपुरदेखि गैँडाकोटको विद्यालयमा पढाउन आउने शिक्षक रमेश थनेतले मासिक २ हजार बढी रकम त सडकमा कर तिरेरै सकिएको बताउनुभयो । ढाट हटाउन माग गर्दै स्थानीयहरु विरोधमा उत्रिएका छन् । 

शुक्रबार एक घण्टा चक्काजामसमेत गरिएको छ । ११ का वडा अध्यक्ष गोविन्द सुवेदीको संयोजकत्वमा सडक दस्तुर हटाउ अभियान संघर्ष समिति गठन नै भएको छ । एघार जनाको मूल समिति निर्माण भएको छ । समितिमा वडा नं ५ का वडा अध्यक्ष नवराज कँडेल, १२ का वडाध्यक्ष थिरबहादुर थनेत, १६ का अध्यक्ष गोवद्र्धन ज्ञवाली, गैँडाकोट ब्याडमिन्टन क्लबका अध्यक्ष धनीराम महतो, स्यानीय कष्ण पाण्डे, खुमप्रकास पौडेल, रामचन्द्र धिताल, सुरेन्द्र तिवारी, होमनाथ सापकोटा र गोविन्दप्रसाद रिमाल रहेका छन् । 

संर्घष समितिले नगरपालिका र प्रशासनमा ज्ञापनपत्र समेत बुझाएको छ । ढाट त्यहाँबाट हटाएर नवलपरासीको सीमा क्षेत्रमा सार्नु पर्ने संघर्ष समितिको रहेको छ । गैँडाकोटमा राजकुमार श्रेष्ठले त्यहाँको ढाट नहटाए गैडाकोटवासी नै आन्दोलनमा आउने बताए । गैँडाकोट ७ जयश्री पुलनजिकै ढाट रहेको छ । ढाटकै कारण त्यहाँ दुर्घटनाको जोखिम समेत बढ्दो छ । 

प्रतिक्रिया दिनुहोस