प्रचण्डसँग जोडेर गरिएका प्रचारबाजीहरु असत्य, नियोजित र दुराषययुक्त

सफल खबर संवाददाता

शुक्रबार, २७ असार २०७६, १३ : ३०
प्रचण्डसँग जोडेर गरिएका प्रचारबाजीहरु असत्य, नियोजित र दुराषययुक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले अध्यक्ष प्रचण्डले कुनैपनि कुटनीतिक नियोगका प्रमुखसँग भेटवार्ता नगरेको स्पष्ट पारेको छ ।

प्रचण्डले हालै नेपालका लागि एक पूर्व भारतीय राजदूत श्यामशरणसँग गोप्य भेटघाट गरेको भन्ने समाचार आएको थियो । तर प्रचण्डका स्वकीय सचिव गंगा दाहालले फेसबुकमा एउटा पोष्ट गर्दै प्रचण्डले श्यामशरणसँग भेट नगनुर्नभएको स्पष्ट पार्नुभयो । उहाँले सञ्चारमाध्यमले प्रचण्डविरुद्ध कुप्रचार गरेको आरोप लगाउनुभयो ।

यस्तो छ दाहालको फेसबुक पोष्ट
ने क पा अध्यक्ष तथा पूर्व प्रम क. प्रचण्डले हालै नेपालका लागि एक पूर्व भारतीय राजदूत श्यामशरण संग गोप्य भेटघाट गरेको भन्ने समाचार प्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । कमरेड प्रचण्डका कुनै पनि कुटनीतिक भेटघाटहरु गोप्य र रहस्यमय छैनन्, बरु ती पारदर्शी एवं पार्टी तथा सरकारी निकायहरुसंगको समन्वयमै भैरहेका छन् । हालसालै, कुनै भारतीय व्यक्ति वा निकायसंग वहॉको त्यस प्रकारको गोप्य भेट भएको छैन । तसर्थ, त्यससंग जोडेर गरिएका प्रचारबाजीहरु असत्य, नियोजित र दुराषययुक्त छन् ।
त्यस्तै, तरकारीको बिषादी परीक्षण प्रकरणमा अध्यक्ष प्रचण्डलाई जबर्जस्ती जोडेर गरिएको कुप्रचार भर्त्सनायोग्य छ । मुलुक र जनताको हितका लागि नेपाल सरकारद्वारा गरिएको र गरिनु पर्ने यस कामबारे अध्यक्ष प्रचण्ड सचेत र स्पष्ट हुनुहुन्छ । 
नेपालको रूपान्तरणका लागि ठूलो ऐतिहासिक भूमिका खेलेको नेपाली पत्रकार जगतबाट निरन्तर सत्य तथ्य समाचार मात्र आउने कुरामा हामी विश्वास व्यक्त गर्दछौं । धन्यवाद !

प्रतिक्रिया दिनुहोस