नमुना बन्दै भरतपुर कारागार, व्यवस्थापनमा कैदीबन्दीको सहयोग

प्रकाश सिग्देल

विहीबार, २६ असार २०७६, १७ : ००
नमुना बन्दै भरतपुर कारागार, व्यवस्थापनमा कैदीबन्दीको सहयोग

चितवन । भरतपुर कारागार ब्यवस्थापनमा कारागारका नाईकेहरुको भूमिका  महत्वपूर्ण देखिएको छ । 
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दीहरु रहेको कारागारमा त्यहाँ रहेका सबै कैदीबन्दीहरुलाई ब्यवस्थापन गरेर राख्ने महत्वपूर्ण जिम्मेवारी नाईकेहरुले पाउने गरेका हुन्छन् । बिभिन्न अपराधमा दोषी ठहर भएपछि सजाय भोग्न कारागार चलान भएकाहरुलाई नै कारागारले उनीहरुको आचरण हेरेर कैदीबन्दी ब्यवस्थापन अर्थात् कारागारको आन्तरिक ब्यवस्थापनको जिम्मेवारी प्रदान गर्ने गरेको छ । 
भरतपुर कारागारमा २ जना नाबालिगसहित ७ सय ५७ कैदीबन्दीहरु रहेका छन् । फरक फरक अपराधमा संलग्न भएका फरक फरक स्वभावका कैदी बन्दीहरुलाई कारागारभित्र ब्यवस्थापन गरिराख्नू निकै चुनौतिको कुरो भएको कारागारका सुरक्षा अधिकारीहरु बताउँछन् । भरतपुर कारागार निकै सुरक्षित ब्यवस्थित र सुरक्षाका हिसाबले पनि बलियो कारागारको रुपमा मानिँदै आएको छ । 
केही वर्ष पहिले भरतपुर कारागारमा कैदीमाथि आक्रमण र मृत्युको घटना भएपछि कारागारका जेलरहरुले बाहिरी सुरक्षा बलियो बनाउनका साथै भित्र रहेका कैदीबन्दीहरुको हरेक समस्या चाँडोभन्दा चाँडो समाधानमा सरिक भएको र त्यहीभित्रका कैदीबन्दीहरुलाई नै भित्रका समस्या समाधानमा बढी क्रियाशील बनाएपछि भरतपुर कारागार अन्य जिल्लाका कारागारको तुलनामा निकै सुरक्षित र ब्यवस्थित कारागारका रुपमा बिकास भएको भरतपुर कारागारका प्रमुख कमलप्रसाद काफलेले बताउनु भयो ।
अहिले अन्य जिल्लाका कैदीबन्दीहरुको पहिलो रोजाई भरतपुर कारागार हुने गरेको काफ्ले बताउनु हुन्छ । भरतपुर कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दीहरु रहे पनि कारागारभित्रको ब्यवस्थापन प्रभावकारी बनाउन चौकीदार, मुल नाईके, नाईके लगायत आन्तरिक सुरक्षा ब्यवस्थापनमा खटिएका कैदीबन्दीहरुको भूमिका महत्वपूर्ण भएकाले पनि कारागारभित्रको अवस्था निकै सबल बनेको उहाँको भनाई छ ।
आफूहरुले जतिसक्दो कैदीबन्दीहरुलाई स्वरोजगार बनाएर कारागारलाई सुधार गृहका रुपमा बिकास गर्दै लगेको काफ्ले बताउनु हुन्छ । कारागार ब्यवस्थापन पक्षले गैँडा मुद्दामा जेल परेका राजेन्द्र चौधरीलाई चौकीदार बनाएको छ भने कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भएका अमृत गुरुङलाई मुल नाईके बनाएको छ । दुवै जना अहिले हरेक समय कैदीबन्दीहरुको सेवा सुविधा बिस्तार र आन्तरिक ब्यवस्थापनमा सरिक भएका छन् ।
अमृत गुरुङ यसअघि चौकीदार भई कुशलतापूर्वक जिम्मेवारी पूरा गरिसकेका बन्दी हुन् । एउटै मानिसलाई लगातार दुई वर्ष चौकीदार बनाउन नमिल्ने ऐनमा ब्यवस्था भएपछि राजेन्द्र चौधरी चौकीदार बनेका हुन् । कारागारभित्रका कैदीबन्दीमा कुनै पनि समस्या हुन नदिन र उनीहरुमा केही असन्तुष्टि देखा परिहाले तत्काल प्रशासनमा जानकारी गराएर उनीहरुको समस्या तत्कालै समाधान गरी कारागारमा कुनै दुर्घटना हुन नदिन आफूहरु सक्रिय भएको मुख्य नाईके अमृत गुरुङले बताउनु भयो ।
आफू बिहानदेखि बेलुकासम्म हरेक समय त्यहाँभित्रका सबै कैदीबन्दीको समस्या बुझदै हिँड्ने गरेको र कारागार प्रमुख काफ्ले आफै पनि कारागारभित्र पुगी कैदीबन्दीको समस्या बुझी हरेक समय समस्या समाधानमा लाग्ने गरेकाले कारागार ब्यवस्थापनमा निकै सहज भएको गुरुङ बताउनु हुन्छ ।
कारागार एउटा घर र भित्रका कैदीबन्दी एउटा परिवारका सदस्य जस्तो गरी सबै जना एक मन भएर जेल जिवन बिताएको मुल नाईके गुरुङ बताउनु हुन्छ । भित्र राजनीतिक आस्थाका बन्दीदेखि विभिन्न अपराध गरी आएका फरक फरक स्वभावका कैदीबन्दीहरु रहेको र सबैको भावना समेट्ने गरी आफूहरुले भित्र हरेक कुराको ब्यवस्थापन बस्ने खाने, औषधि उपचार लगायतका सबै कुरा प्रभावकारी ढंगबाट मिलाएको उहाँ बताउनु हुन्छ ।  
चौकीदार राजेन्द्र चौधरीले चितवन कारागारमा कुनै समस्या नभएको र केही अभाव सृजना हुनासाथ आफूहरुले तत्कालै समाधानको पहल गर्दै आएको बताउनु भयो । कारागारमा एक अर्काबीच बेमेल, कुनै दमन, यातना जस्ता कुनै पनि घटना नभएको उहाँ बताउनु हुन्छ ।
ठाउँको अभावले क्षमताभन्दा बढी कैदीबन्दी बस्न पर्ने बाध्यात्मक अवस्थाको समस्या भने समाधान हुन नसेको दुखेसो गर्नु भयो । चितवन कारागार सुरक्षित र ब्यवस्थित भएकै कारण सबै कैदीबन्दीको रोजाईमा परेकाले पनि कैदीबन्दीको संख्या अत्याधिक बढेको उहाँ बताउनु हुन्छ । 
अहिले वर्षातको समय भएकाले भित्र ढल निकासको समस्या भने जटिल बनेको छ । केही कैदीबन्दीहरुमा भाईरल ज्वरोको समस्या भने देखा परेको कारागारका कैदी तथा स्वास्थ्यकर्मी मदारी महतोले बताउनु भयो । भाईरलको समस्या समाधान हुँदै गएको उहाको भनाई छ । आफूहरुले औषधि उपचारको प्रभावकारी ब्यवस्थापन गर्दै आएको उहाँ बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस